शरद् ऋतुमा मनास्लु आरोहण उत्साहवर्द्धक, निमा छिरिङको नयाँ ‘रेकर्ड’

  १८ घण्टा अगाडि

काठमाडौँ, १३ असोज : शरद् ऋतुमा हिमाल आरोहीहरुको आकर्षण मनास्लु (८,१६३ मिटर)मा देखिएको छ । यही असोज १२ गतेसम्म मनास्लु आरोहणका ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

निर्देशक गौतमका अनुसार केही आरोहीले मनास्लु आरोहण गरिसकेका छन्भने केहीले तयारी गरिरहेका छन् । उहाँका अनुसार गत वर्षको यही याममा मनास्लु आरोहणका लागि २८ आरोही समूह थिए । मनास्लु आरोहणका लागि सेभन समिट ट्रेक्स प्रालि, सतोरी एड्भेन्चर प्रालि, इलाइट एक्सपेडलगायतका कम्पनी मनास्लुको आधार शिविर पुगिसकेका छन् ।

हाल मौसम अनुकूल रहेकाले विश्वको आठौँ अग्लो मनास्लुसँगै धौलागिरि हिमाल आरोहण जारी छ । त्यसबाहेक आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायत हिमाल आरोहणका लागि आरोहीहरु गन्तव्यमा पुगेको विभागको भनाइ छ ।

विभागका अनुसार यस याममा विभिन्न ३६ हिमाल तथा पिक आरोहणका लागि नेपालसहित ६७ देशका १५२ महिला र ५१५ पुरुष गरी ६६७ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार सगरमाथा आरोहणका लागि दुई आरोही समूहले अनुमति पाएका छन् । धौलागिरिमा एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन्भने मकालु र ल्होत्सेमा समान एक समूहले अनुमति पाएको छ । हिम्लुङ हिमालमा छ आरोही समूहका ४८ जनाले अनुमति लिएका छन् ।

शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि यस याममा आरोहण गर्न उल्लेख्य सङ्यामा आरोही आउने गरेको निर्देशक गौतमको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य ऋषिराम भण्डारीले यस वर्ष समग्र रुपमा मनास्लु आरोहण उत्साहजनक रहेको बताउनुभयो । सतोरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका ऋषिराम भण्डारीले ३५ भन्दा बढी आरोही मनास्लु आरोहणमा गएका छन् । आमादब्लमलगायत हिमालमा पनि आरोहीको आकर्षण छ ।

नेपाल पर्वतारोहण सङघका प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पाले पनि मनास्लु आरोहण उत्साहबद्र्धक रहेको बताउनुभयो । “विगतको भन्दा यो पटक धेरै सङ्ख्यामा आरोही आएका छन् । समग्रमा पर्वतारोहण उत्साहजनक रहेको छ”, उहाँले भन्नुभयो ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले यस पटक मनास्लु आरोहण राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक मनास्लुमा आरोहीको आकर्षण देखिएको छ, मनास्लु आरोहणमा पठाउने सबै व्यवसायीको आरोहणमा कुनै समस्या भएन । विगतमा जस्ता कुनै किसिमका अप्रिय घटना भएनन् । अहिलेसम्म आरोहण उत्साहजनक छ ।”

उहाँका अनुसार समग्रमा पर्वतारोहणमा यस याममा उत्साह छ । तर पदयात्रामा केही बुकिङ भने रद्द भएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेका अनुसार यस पटक तुलनात्मक रुपमा कम पदयात्री गन्तव्य गएका छन् । पछिल्लो परिस्थिति सृजना भएपछि सेप्टेम्बरसम्मका लागि मात्रै २५ प्रतिशत बुकिङ रद्द भएको छ । यद्यपि अक्टोबरमा भने उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने विश्वास गरिएको छ ।

जेनजी आन्दोलनले केही दिन नेपालको पर्यटन आगमन खुम्चिएको थियो । अहिले विस्तारै पर्यटक आगमन बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । आन्दोलन पूर्व दैनिक तीन हजार २०० हाराहारी विदेशी पर्यटक आइरहेकामा विषम परिस्थितिपछि यो सङ्ख्या घटेर दैनिक १६ सयको हाराहारीमा आएको थियो । यद्यपि यस साता भने दैनिक औसतमा २९ सयको हाराहारीमा यात्रु आइरहेका छन् ।

१८ करोडभन्दा बढी रोयल्टी
पर्यटन विभागका अनुसार यस याममा हिमाल आरोहणबाट हालसम्म रु १८ करोड २१ लाख ६८ हजार ६२४ रोयल्टी जम्मा भएको छ । मनास्लुबाट मात्रै १५ करोड रोयल्टी उठेको छ । विभागका निर्देशक गौतमले शरद ऋतुमा मनास्लुसहित विभिन्न हिमाल आरोहणमार्फत हालसम्मकै बढी रोयल्टी जम्मा भएको बताउनुभयो । विगतमा यस याममा रु सातदेखि आठ करोडको हाराहारी रोयल्टी उठ्ने गरेको थियो ।

मनास्लुमा नयाँ रेकर्ड
निमा छिरिङ शेर्पाले सबैभन्दा कम उमेरमा मनास्लु आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । उहाँले असोज १२ गते विहान ६ः२४ बजे १६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु आरोहण गर्नुभएको हो ।साथै मनास्लुमा यस याममा स्पेनका ८६ वर्षका आरोहीले आरोहण गरेर रेकर्ड बनाउनुभएको छ ।

पोल्याण्डका साहसिक पर्वतारोही आन्द्रेज बार्गिएलले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएर रेकर्ड बनाउनुभएको छ । उहाँ सेभेनसमिट ट्रेक्स प्रालिमार्फत स्कीका लागि सगरमाथा जानुभएको थियो ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनास्लु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । नेपालको सुदूरपश्चिम भागमा रहेको मनास्लु जसलाई कुताङ भनेर पनि चिनिन्छ । यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।

विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया