इरानी सेनाको मिनीबसमा आक्रमण

  २ घण्टा अगाडि

तेहरान, २२ असोज : इरानको अशान्त दक्षिण-पूर्वी क्षेत्रमा सेनाका कर्मचारी बोकेको सवारी साधनमा आक्रमण भएको छ । बिहीबारको आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी सञ्चार माध्यमले जनाएका छन् ।

सिस्तान-बलुचिस्तान प्रान्तको मकरान तटमा तैनाथ एउटा सैनिक विभागका कर्मचारी बोकेको मिनीबसमा आज बिहान सशस्त्र आक्रमण भएको इरानी समाचार संस्था (इर्ना)ले जनाएको छ । इर्नाले मृतक व्यक्तिको नाम दिएको छ तर मृतक सेनाका कर्मचारी भए नभएको खुलाएको छैन ।

सिस्तान-बलुचिस्तान प्रान्तमा नै भएको अर्को घटनामा ‘कारबाहीमा खटिएको प्रहरी गस्ती दल सशस्त्र गैरकानुनी व्यक्तिको आतङ्कवादी आक्रमणमा परेको छ,” प्रान्तीय प्रहरीले बिहीबार इर्नामार्फत जारी सार्वजनिक वक्तव्यमा भनेको छ । “आक्रमणमा एक प्रहरी अधिकृत शहीद भएका छन् भने धेरै ‘आतङ्कवादी’ घाइते भएर भागेका छन्,” वक्तव्यमा थपिएको छ ।

पाकिस्तान र अफगानिस्तानसँग सिमाना जोडिएको सिस्तान-बलुचिस्तानमा लामो समयदेखि इरानी सुरक्षा बल र कथित विद्रोही तथा लागूऔषध तस्करबिच झडप हुने गरेको छ । इरानका सबैभन्दा गरिब प्रान्त मध्ये एक यो प्रान्तमा उल्लेखनीय सङ्ख्यामा जातीय बलुच जनसंख्या बसोबास गर्छ । उनीहरूमध्ये अधिकांश सुन्नी इस्लामका अनुयायी हुन् भने इरान शिया-बहुल राष्ट्र हो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया