ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा

  ८ घण्टा अगाडि

वासिङ्टन, १३ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

गत हप्ता अरब र मुस्लिम नेतासँगको वार्तापछि युद्ध अन्त्य गर्ने, बन्धक मुक्त गर्ने र प्यालेस्टिनी उग्रवादीलाई निशस्त्र बनाउने सम्झौता प्रभावकारीरूपमा सम्पन्न भएको ट्रम्पले सामाजिक सञ्जालमार्फत बताउनु भएको छ ।

द टाइम्स अफ इजरायल र अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पको योजनाले तत्काल युद्धविराम, इजरायली सेनाको फिर्ती र बन्धकलाई ४८ घण्टाभित्र रिहा गर्न आह्वान गरिएको छ । त्यसपछि इजरायलले एक हजारभन्दा बढी प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरेको जनाइएको छ ।

तथापि, नेतान्याहू भने गाजा सहरमा इजरायली सैन्य आक्रमण रोक्न तयार नभएको जनाइएको छ । गत जनवरीमा ट्रम्पको शासनकाल सुरु भएपछि नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो । गाजामा बन्दी बनाइएका इजरायली बन्धकका परिवारले ट्रम्पलाई आफ्नो गाजा प्रस्तावलाई समर्थन गर्न खुला पत्रमार्फत आग्रह गरेका छन् ।

विज्ञहरुले भने “नेतान्याहुको युद्ध जारी राख्ने र हमासलाई पराजित गर्ने स्पष्ट प्राथमिकतामा ट्रम्पले कति टाढासम्म धकेल्न सक्नुहुन्छ भन्ने विषयमा निर्भर हुने बताएका छन् । यसका लागि ट्रम्पको पेचिलो दबाब र स्पष्ट तथा दिगो रणनीति चाहिने उनीहरुको दाबी छ । गाजाका नागरिकले भने भने ह्वाइट हाउस बैठक अघि आशा, थकान र अविश्वास व्यक्त गरेका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया