खसी–बोका बिक्री हुँदा किसान खुसी

  ५ घण्टा अगाडि

सुदूरपश्चिम, १२ आसोज : कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उहाँ खुसी हुनुहुन्छ ।

थापाले भन्नुभयो, “गाउँमा खसी–बोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु । माग राम्रै छ, आम्दानीले घर खर्च चलाउन सहज हुँदैछ ।” उहाँको खोरमा १५० गोटासम्म खसीबोका छन् । हाल विशेष गरी बोकाको माग राम्रो भइरहेको र जिउँदो बोका प्रतिकिलो रु ५५० का दरमा बिक्री गर्ने गरेको थापाले सुनाउनुभयो ।

उहाँले धनगढीमा ८० बोका ल्याएर घुम्ती व्यापार गरिरहनुभएको छ । “चुरे गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत बाख्रपालन, फलफूल र तरकारीखेती हो, तर पछिल्ला वर्षमा जङ्गलमा चर्न जाने बाख्रालाई बाघले खाने समस्या बढ्दा हामी चिन्तित छौँ ।”

चुरे गाउँपालिकाका किसानले खोरमा कम्तीमा २० देखि बढीमा १५० गोटासम्म बाख्रापालन गरिरहेको बताइएको छ । व्यापारी दुर्गाबहादुर खम्जालीले चुरे क्षेत्रका खसी–बोकाको माग काठमाडौँ र पोखरासम्मका व्यापारीबाट आउने गरेको बताउनुभयो । पछिल्लो समय बलि दिने परम्परामा कमी आउन थालेको र साकाहारी हुनेको सङ्ख्या बढ्दै जाँदा विगतका जस्तो माग भने नरहेको उहाँको भनाइ छ ।

चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । बडादसैँको समयमा यो क्षेत्रमा पालिएका खसी–बोकाको माग बढी हुने गरको छ । बाख्रापालन व्यवसायका लागि चुरे क्षेत्रलाई सरकारले पकेट क्षेत्र घोषणा गरे पनि सहयोग नपाइरहेको कृषकको गुनासो छ । “सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर कुनै किसिमको सहयोग गर्दैन, किसानले दर्ता भएको फर्मअनुसार कर मात्र तिर्दै आएका छौँ”, अधिकांश किसानको गुनासो छ ।

चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ ।
रासस

तपाईको प्रतिक्रिया