सेवा विस्तार गर्दै जिपी कोइराला अस्पताल

  ३ घण्टा अगाडि

दमौली (तनहुँ), १० असोज : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि केही दिनयता सेवा प्रवाह भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा राम श्रेष्ठले जानकारी दिनुभयो ।

मणिपाल शिक्षण अस्पताल पोखराका ग्याष्ट्रोलोजिष्ट डा शङ्कर बराल र केन्द्रका जनरल सर्जन डा सविनकुमार घिमिरेको समूहले बिरामीको परीक्षण गरी सेवा सञ्चालनमा ल्याउनुभएको हो । अब नियमित रूपमा उक्त सेवा सञ्चालन गरिने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सेवा नहुँदा यस भेगका जनता पोखरा जानुपर्ने बाध्यता थियो । अब पेटसम्बन्धी समस्याको उपचार यहीबाट प्रदान हुनेछ ।”

केन्द्रमा अन्य सेवा थप गर्दै लैजाने रणनीतिअनुसार गत भदौ १० गतेदेखि विद्युतीय चिकित्सा प्रणालीसमेत सुरु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि टिकट, बिलिङ, रिपोर्ट, औषधिलगायत विवरण अनलाइन प्रणालीमार्फत् जानकारी लिन सहज भइरहेको डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्सरे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न पाउँछन् ।”
रासस

तपाईको प्रतिक्रिया