महोत्तरी, ९ असोज : दसगजा (नेपाल–भारत सीमा) पारीका भारतीय बजार नेपाली उपभोक्ताले भरिभराउ छन् । चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न नेपाली उपभोक्ता भारतीय बजार पुगेका हुन् । महोत्तरीसँग सीमा जोडिएका भारतका साना ठूला सबैजसो भारतीय बजारमा नेपाली उपभोक्ताको भीड छ ।
भारतको मधुवनी जिल्लाका मधवापुर, साहरघाट र सीतामढी जिल्लाका भिठ्ठामोड, सुरसण्ड, बराही, परिहार, नोचागोरहारी, बेला, कन्हमा र खैरवासहितका बजार दसैँका बेला नेपाली उपभोक्ताको गन्तव्य बनेका छन् ।
“यतिखेर नेपालतिरका बजार सुनसान जस्तै बनेका बेला नेपाली उपभोक्ताले पारीका बजार गुलजार बनाएका छन्”, सीमावर्ती बस्ती सम्सीका स्थानीय इम्तियाज अहमद भन्नुहुन्छ, “यो लाममा कतिपय नेपाली उपभोक्ता त सस्तो पाइने हल्लैहल्लामा भारतीय बजार धाइरहेका छन् ।”
खासमा चामल, पिठो, मैदा, मरमसाला, साबुन, सर्फ, पूजाआजाका सर्दाम र चिनी जस्ता दैनिक उपभोग्य बस्तु पारीका बजारमा कम मूल्य पर्छन् । नभइ नहुने यी सामानमा मूल्यमा परेको फरकले नेपाली उपभोक्ता भारतीय बजार जाने गरेको सीमावर्ती नेपाली बस्ती खैरवनीका रामप्रताप यादव बताउनुहुन्छ । “ल, भन्नोस् न, चिनी नेपाली बजारमा रु ९० प्रतिकिलो पर्छ, दशगजा कटेर पारी पुग्न बित्तिकै ७३ रुपैयाँमा पाइन्छ”, उहाँले भन्नुभयो । एक किलो चिनीमा १७ रुपैयाँको फरक सामान्य मजदुरी गरेर गुजारा गर्नेका लागि निकै फरक पर्ने यादवको भनाइ छ ।
सीमा आसपासका भारतीय बजारमा अहिले व्यापारीले सामानको मूल्य नै नेपाली मुद्रामा बताउँछन् । पहिलेपहिले नेपाली मुद्रालाई भारतीय बनाउँदा बट्टा काट्ने चलन पनि भारतीय व्यापारीले पर्व विशेषमा हटाएका छन् ।
भारतीय बजारका व्यापारी नेपाली ग्राहकसँग विनम्र बोल्ने, धेरै मोलमोलाइको ठाउँ नराख्ने यथासक्य छिटो सेवामा तल्लिन देखिनुले प्रभाव पारेको कतिपयको बुझाइ छ । नेपाली ग्राहक धेरै कचिंगल नगर्ने र सामान लिएपछि हिँडी हाल्ने हुँदा आपूmलाई ग्राहक फकाउन सजिलो हुने भारतीय व्यापारी बताउँछन् ।
एक जनाले बोकेर ल्याउने दैनिक उपभोग्य सामानमा भन्सारमा कर्मचारीले खासै दुःख नदिने कारण पनि नेपाली उपभोक्तालाई भारतीय बजार सहज बन्ने गरेको सीमा क्षेत्रका स्थानीयवासी बताउँछन् ।