ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

  ९ घण्टा अगाडि

ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ । मदुरोले दुई कट्टर शत्रुबीच तनाव कम गर्न संवाद प्रस्ताव गर्नुभएको थियो ।

भेनेजुएलाका दुई प्रमुख विपक्षी नेताहरूले अमेरिकाको नौसैनिक तैनाथीलाई समर्थन गर्दै यसलाई लोकतन्त्र पुनःस्थापनाका लागि महत्त्वपूर्ण भनेका छन् ।

ट्रम्पले दक्षिणी क्यारिबियनमा लागुऔषध विरोधी कारबाहीका लागि आठ युद्धपोत र एउटा पनडुब्बी पठाउनुभएको छ । भेनेजुएलाले यसलाई सम्भावित आक्रमणको सङ्केतका रूपमा लिएको छ ।

अमेरिकी सेनाले हालै तीनवटा सन्दिग्ध लागुऔषध डुङ्गा नष्ट गरेको छ, जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

भेनेजुएला सरकारले आइतबार मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा मदुरोले लागुऔषध कार्टेलसँग संलग्न भएको अमेरिकी आरोपलाई ‘पूर्णतया झुटो’ भन्दै अस्वीकार गर्नुभएको थियो र ट्रम्पलाई ‘शान्ति कायम राख्न’ आग्रह गर्नुभएको थियो ।

तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रमा ‘धेरै झुटहरू’ भएको बताउनुभयो । उहाँले अमेरिकाको नीति परिवर्तन नभएको र मदुरो शासनलाई अझै ‘अवैध’ मानिएको स्पष्ट पार्नुभयो ।

यो तैनाथी क्यारिबियन क्षेत्रमा वर्षौंयताकै सबैभन्दा ठूलो हो । मदुरोले ट्रम्पलाई शासन परिवर्तन प्रयासको दोषारोप गर्दै यो पहिलो पत्र भए पनि थप पठाउने बताउनुभयो । उहाँले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा ‘भेनेजुएलाको सत्यको रक्षा’ गर्ने सङ्कल्प व्यक्त गर्नुभयो ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकामाथि ‘अघोषित युद्ध’ चलाएको आरोप लगाउँदै लागुऔषध डुङ्गामा सवारहरूलाई ‘रक्षाको अधिकार बिना मृत्युदण्ड दिइएको’ दाबी गर्नुभयो । नगद सङ्कटमा परेको भेनेजुएलामा हजारौँ नागरिक मिलिसियामा सामेल भइरहेका छन् ।

केही भेनेजुएलालीहरूले भने अमेरिकी कदमको स्वागत गर्दै मदुरोको पतन छिटो हुने अपेक्षा राखेका छन् । निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले सैन्य तैनाथीलाई ‘आपराधिक संरचना ध्वस्त पार्न आवश्यक’ भन्नुभयो ।

विपक्षी नेत्री मारिया कोरिना मचाडोले पनि यसलाई समर्थन गर्दै भेनेजुएलाका गिरोहहरू अमेरिकाको ‘सुरक्षा र स्थिरतामा बढ्दो खतरा’ भएको बताउनुभयो ।

तर अर्का विपक्षी व्यक्तित्व हेनरिक क्याप्रिल्सले अमेरिकी हस्तक्षेपको विरोध गर्दै ‘समाधान सैन्य होइन, राजनीतिक हो’ भन्नुभयो । उहाँका अनुसार ट्रम्पका कदमहरूले उल्टै सत्तामा रहेकाहरूलाई बल पुर्‍याउने छन् ।

गत वर्ष मदुरोको विवादास्पद पुनःनिर्वाचनपछि हिंसात्मक प्रदर्शनमा दुई दर्जनभन्दा बढी मारिएका र सयौँ पक्राउ परेका थिए ।

विपक्षीहरूले नतिजाले मचाडोलाई प्रतिबन्ध लगाइएपछि उम्मेदवार बनेका गोन्जालेज उरुटियाले वास्तविक रूपमा जितेको दाबी गरेका छन् । गिरफ्तारीको डरले उहाँ स्पेनतर्फ भाग्नुभयो भने मचाडो अझै भेनेजुएलामै लुकेर बस्नुभएको छ ।
रासस

तपाईको प्रतिक्रिया