कोरोना सङ्क्रमित बढ्दै, जलेश्वर नगरमा स्वास्थ्य चौकी एकहप्ता बन्द

  साउन २०, २०७७

जलेश्वर, साउन २० : महोत्तरी जिल्लामा केही दिनयता कोरोनाबाट सङ्क्रमित हुनेको संख्यामा बढोत्तरी हुँदै गएको छ । महामारीको कारण अग्रपंक्तिमा खटिने मुख्य भुमिका खेल्ने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकी समेत बन्द गर्न थालेका छन् ।

मंगलबार पनि महोत्तरीमा १४ जना नेपाली सेना र एक जना सम्सीमा गरी १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हिजो सोमबार मात्रै जलेश्वर नगरपालिकामा काम गर्ने २५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । केही स्वास्थ्यकर्मीहरुमा समेत कोरोना पोजेटिभ देखिएको भन्दै जलेश्वर नगरपालिकाको अनकार स्वास्थ्य चौकीले सम्पूर्ण सेवा एकहप्ताका लागि बन्द गरेको छ ।

कोरोना महामारीका कारणले केही स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएको भन्दै साउन २० गतेदेखि २६ गतेसम्म सो स्वास्थ्य चौकीका सम्पूर्ण सेवा बन्द गरिएको हो । महोत्तरीमा लगातार कोरोना पोजेटिभको संख्या बढदै गएपछि शुक्रबार राति देखि नै पाँच दिनको लागि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडानं. ३ र ५ मा निषेधाज्ञा लगाइएको हो ।

स्थानीय प्रशासनले निषेधाज्ञाकै क्रममा पिसिआरको चेकजाँच बढाएपछि यत्तिको संख्यामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ फोकलपर्सन गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

नगरपालिकाका ५४ जना कर्मचारीहरुको पिसिआर टेष्ट गरिएकोमा सोमबार २५ जना कर्मचारीको कोरोना भाइरस पोजिटिभ आएको बताउनुहुँदै झाले नेपाली सेनाको रणभिम गण परिकौलीमा रहेका एकजना जवान पनि सङ्क्रमित भएको पुष्टि गर्नुभयो । अहिलेसम्म नेपाली सेनाको २५ जना कोरोना पोजेटिभ देखिएका छन् ।

जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्रले कर्मचारीहरुको ट्राभल हिस्ट्रि नदेखिए पनि यत्तिको संख्यामा कर्मचारी कोरोना पोजेटिभ देखिएकोमा आश्चर्य व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा कोरोना फैलिसकेको आशंकामा विभिन्न व्यवस्थापनहरुका साथै सङ्क्रमित कर्मचारीहरुको कन्टेक्ट टे«सिङ्ग गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया