गाजा, ७ भदौ : गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ ।
शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए ) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
“हामीले पटकपटक चेतावनी दिएका थियौं । अहिले स्थिति गम्भीर छ र यसलाई मानव निर्मित संकटको रूपमा हेर्न सकिन्छ,” उहाँले लेख्नुभएको छ । लाजरिनीका अनुसार गाजामा आधारभूत राहत सामग्री लामो समयदेखि पर्याप्त रूपमा आपूर्ति हुन सकेको छैन ।
खाद्य सुरक्षासम्बन्धी चरणगत मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले हालै प्रकाशित प्रतिवेदनमा गाजा सहरसहितको क्षेत्रमा भोकमरी पुष्टि भएको जनाएको छ । सो प्रतिवेदनमा देइर अल–बलाह र खान युनिस क्षेत्रमा पनि संकट फैलन सक्ने चेतावनी दिइएको छ ।
प्रतिवेदनअनुसार अगस्त महिनाको अन्त्यसम्म करिब ६ लाख ४० हजार मानिस गम्भीर खाद्य अभावको स्थितिमा पुग्न सक्नेछन र ११ लाखभन्दा बढी व्यक्तिहरू आपतकालीन खाद्य असुरक्षाको अवस्थामा रहने अनुमान गरिएको छ ।
लाजरिनीले संकटको थप विस्तार रोक्नका लागि तुरुन्त युद्धविराम र निर्वाध मानवीय सहायता आपूर्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले भने उक्त आरोपलाई अस्वीकार गर्दै गाजामा भोकमरी फैलाउने कुनै नीति नरहेको स्पष्ट पारेको छ । इजरायलले आफूले “भोकमरी रोक्ने नीति“ अपनाएको र सहायता आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत रहेको जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषण र भोकका कारण २७३ जनाको निधन भइसकेको छ, जसमा ११२ बालबालिका रहेका छन् ।
सन् २०२५ मार्च २ मा युद्धविराम समाप्त भएपछि गाजामा राहत सामग्रीको आपूर्ति उल्लेखनीय रूपमा घटेको जनाइएको छ । (रासस/सिन्ह्वा)