वातावरणीय संरक्षण साझा जिम्मेवारी

  १२ घण्टा अगाडि

काभ्रेपलाञ्चोक, ७ भदौः युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको नालास्थित काशी भन्ज्याङ क्षेत्रमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको वडा नं ३ मा अवस्थित सार्वजनिक जग्गा र युलेन्स एजुकेशन फाउण्डेशनको निजी स्वामित्वमा रहेको करिब ४०० रोपनी जग्गामा करिब दशहजार बिरुवा रोपिएको कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीसहित करिब एकहजार जना सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरणीय संरक्षणलाई सबैको साझा जिम्मेवारी जनाउँदै युवालाई प्रकृति संरक्षणमा सक्रिय बनाउन यस्तो अभियान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि बृहत् वृक्षारोपण अभियान अघि सारेको उल्लेख गर्दै वातावरणीय सचेतनामा यस्ता कार्यक्रमहरू टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य राखेको स्मरण गर्दै सरकारले मात्र नभई सबै पक्षको सहकार्य आवश्यक पर्ने बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठलगायत विशिष्ट अतिथिको पनि सहभागिता रहेको थियो ।

युलेन्स एजुकेशन फाउन्डेशनका ट«िस्ट हेमसागर बरालले नेपाल सरकारको जलवायु प्रतिबद्धतासँग सहकार्य गर्दै सगरमाथा संवादद्वारा अघि सारिएको २० वर्षे वृक्षारोपण अभियानलाई समर्थन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

 कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले युवाको सक्रिय सहभागितालाई उच्च प्रशंसा गर्दै वातावरणीय संरक्षणमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फाउण्डेशन र नगरपालिकाले संयुक्त रूपमा रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया