म्याग्दी, ५ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ ।
हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने आधुनिक प्रविधि हो । यस बिधि मार्फत् औषधिको प्रयोग गरेर एउटा समूहमा रहेका सबै आमा पशुहरुको हिट वा उत्सर्जन चक्रलाई एउटै समयमा ल्याइन्छ ।
अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश जिसीले वडा नम्बर ८ राम्चेका किसानले गरेको गाईमा गरिएको मौसमी कृत्रिम गर्भाधान सफल भएपछि पालिकाभर विस्तार गरिएको जानकारी दिनुभयो ।
“आर्थिक वर्ष २०८१/८२ मा ८, ६ र ५ नम्बर वडाका करिब ७० वटा गाईभैसीलाई यो बिधीबाट कृतिम गर्भाधान गराइएको छ,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८२/८३ मा चार सय देखि पाँच सय गाईभैसीलाई हिट सिङक्रोनाइजेशन बिधीबाट गर्भाधान गराउने लक्ष्य छ ।”
चैत÷बैशाखको समयमा पाडापाठी र बाच्छाबाच्छी जन्मने गरेर गाईभैसीमा कृतिम गर्भाधान गराइएको छ । मौसमी कृत्रिम गर्भाधानबाट एउटै समयमा जन्मिएका पाडापाडी, बाच्चाबाच्छीको पालन–पोषण, खोप र व्यवस्थापन गर्न सजिलो भएको छ ।
पशुको प्रजनन् दर बढ्ने, समय र श्रमको बचत हुने, दूग्ध र मासु उत्पादन नियमित र योजनावद्ध हुने भएकाले यो कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
आर्थिक वर्ष २०८० /८१ रु. दुई लाख बजेट रहेको यो कार्यक्रमका लागि २०८१ /८२ मा रु. सात लाख बिनियोजन भएको थियो । २०८२ /८३ मा कृतिम गर्भाधान कार्यक्रमका लागि रु. पाँच लाख बिनियोजन भएको छ ।
म्याग्दीमा पहिलो पटक अन्नपूर्ण गाउँपालिकामा पशुमा मौसमी कृतिम गर्भाधान गराइएको हो । यसलाई गाउँपालिकाले सिर्जनशिल र नमुना काम भएको दावी गरेको छ ।