नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु

  १० घण्टा अगाडि

काठमाडौँ, ५ भदौ : नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरी सहभागी भएका छन

गृहमन्त्री रमेश लेखकले आज यहाँ सम्मेलन उद्घाटन गर्दै यो सरकारका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुरुषभन्दा महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत हुँदै आएको बताउँदै महिला प्रहरीले प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गरिरहेका उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखक नेपाल प्रहरीले महिलालाई माथिल्लो तहमा पुग्नका लागि प्रेरणा दिँदै आएको बताउँदै पछिल्लो समय महिला हरेक क्षेत्रमा सक्षम रहेका धारणा राख्नुभयो । विसं २०६३÷६३ को आन्दोलनपछि गणतान्त्रिक व्यवस्था र समावेशी निर्माण गर्ने चरित्रका विशेषताका कारण प्रहरीमा १२ प्रतिशत महिलाको सहभागिता भएको उहाँले जानकारी दिनुभयो ।

समावेशी चरित्रको राज्य निर्माण गर्ने विशेषताले नागरिकलाई संविधानमा नै उल्लेख गरी धेरै अधिकार दिएको यसले पुष्टि हुने उहाँले बताउनुभयो । उहाँले आजका दिनमा नेपाल प्रहरीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरिएकाले महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “अब आरक्षणमा २० प्रतिशत होइन, महिला प्रहरीको उपस्थिति २० प्रतिशत पु¥याउनुपर्छ, त्यसमा हामी प्रतिबद्ध छौँ, तपाईंहरू अघि बढ्नुस् मन्त्रालयको तर्फबाट पूर्णसहयोग रहन्छ ।” उहाँले महिलाको आरक्षण मात्रै ३३ प्रतिशत हुनुपर्नेमा जोड दिँदै यसलाई क्रमशः बढाउँदै लगिने धारणा राख्नुभयो ।

पछिल्लो समय बलात्कार, यौजजन्य हिंसाका घटना बढिरहेका भन्दै त्यसमा महिला र बालबालिका बढी पीडित भएरहेका उहाँले जानकारी दिनुभयो । गृहमन्त्री लेखकले तीन ‘स’ समानताको व्यवहार, सशक्तिकरण र सम्भावनाको अवसरमा महिलालाई समाहित गर्नुपर्नेमा जोड दिनुभयो ।

सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायको पहिलो ढोका प्रहरी भएको बताउँदै म्हिला हरेक क्षेत्रमा काम गर्न सक्षम रहेका महिला प्रहरीले उदाहरण प्रस्तुत गरिरहेका धारणा राख्नुभयो । विगतमा महिलाले केही गर्न सक्दैनन् भन्ने अनुमान निराधार ठहर भइसकेको उहाँले बताउनुभयो । उहाँले अब भिभिआइपी र भिआइपीको सुरक्षामा महिलाले पनि सुरक्षा दिन सक्छन् भन्दै उदाहरण बनिदिन प्रहरी नेतृत्वलाई अनुरोध गर्नुभयो । उहाँले प्रहरीमा शून्यबाट १२ दशमलव ४१ प्रतिशत महिला सहभागी हुनु गर्वको विषय भएको बताउनुभयो ।

महान्यायाधिवक्ता रमेश बडालले यो सम्मेलनले जे पारित गर्छ, राज्यलाई त्यसले महत्त्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गर्नुभयो । संवैधानिक निकायमा महिला न्यायाधीशका लागि प्रसूति बिदा थिएन अहिले त्यो व्यवस्था गरिएको जानकारी दिँदै उहाँले कानुन विहिनताका कारणले पनि विभेद् भएको अवस्थामा विस्तारै सुधार हुँदै गएको बताउनुभयो ।

अझै विभेद् भए यो सम्मेलनले औँल्याइदिए सुधार गरिने बडालले बताउनुभयो । “व्यवहारको सन्दर्भमा कानुन कार्यान्वयन हुने अवस्था नभएकाले कसरी गाँठो फुकाउने भनेर सुझाव आओस्”, उहाँले भन्नुभयो ।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला प्रहरीमा आउनका लागि प्रेरणा दिने किसिमका कानुन तथा नीति निर्माण गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला, बालबालिका तथा जेष्ठ नागरिकविरुद्धका हिंसा वृद्धि भइरहेका उल्लेख गर्दै हिंसा अन्त्यका लागि समन्वय र सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले देशभरका महिला प्रहरी कर्मचारीहरू दर्जा, क्षेत्रगत र जिम्मेवारीगत रूपमा सम्मेलनमा सहभागी भएका जानकारी दिनुभयो । उहाँले सम्मेलनलाई समावेशीगत बनाउने प्रयास गरिएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा विभिन्न १० वटा कार्यपत्रमाथि छलफल हुने तथा प्यानल छलफल गरी काठमाडौँँ घोषणापत्र जारी गरिने छ । साथै महिला प्रहरीको भूमिका, स्वास्थ्य, वित्तीय साक्षरता, साइबर सुरक्षा कर्तव्य निर्वाहलगायत विषयका कार्यपत्र प्रस्तुत हुनेछन् ।

महिला प्रहरीको भूमिका, लैङ्गिकमैत्री वातावरण र कार्यस्थल, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र क्षमता अभिवृद्धि, अवसर तथा चुनौतीका विषयमा छलफल हुने प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा समाजमा ‘रोलमोडल’का रूपमा अग्रणी भूमिकामा रहेका व्यक्ति र प्रहरीमा नेतृत्व तहमा पुगेर सेवा निवृत्त भएका, पहिले महिला कर्मचारीको हैसियतमा रहेका र विभिन्न विधामा रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा रहेर सेवा गरेकाहरूको अनुभव आदानप्रदान हुनेछ ।

सम्मेलनपछि जारी हुने घोषणापत्र संविधान र कानुन तथा तालुक गृह मन्त्रालयको नीति, कार्ययोजना, प्रहरीको कार्ययोजना तथा लैङ्गिक नीतिमा आधारित हुने पनि अधिकारीले बताउनुभयो । हाल नेपाल प्रहरीमा १२ दशमलव ४१ प्रतिशत महिला छन् ।

तपाईको प्रतिक्रिया