गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

  १८ घण्टा अगाडि

दाएर अल–बालाह, ३१ साउन : गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका सयौं हजार विस्थापितहरू चर्को गर्मी, पानीको अभाव र रोगसँग जुधिरहेका छन् । बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो, प्रदूषित पानी लिएर फर्किन्छन् र त्यो नै आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन् ।

“हामीसँग अर्को विकल्प छैन,” उहाँले भन्नुभयो, “यही पानीले हामी र हाम्रा छोराछोरी बिरामी भइरहेका छौं ।”

यस प्रकारको अवस्था अहिले गाजाको सामान्य दिनचर्या बनेको छ । प्रत्येक थोपा पानी अत्यन्तै मोल हुने भएकोले मानिसहरू पिउने, पकाउने, धुने र नुहाउने कार्यका लागि पानीलाई बाँडीचुँडी प्रयोग गरिरहेका छन् । पानी ढुवानी गर्ने ट्रकहरू दुई–तीन दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको स्टक गर्दै बाँच्न संघर्ष गरिरहेका छन् ।

जब पानी आउँदैन, केही मानिसहरू समुद्रको पानी बोतलमा भरेर प्रयोग गर्न बाध्य हुन्छन् — जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ ।

स्वास्थ्य संकट गहिरिंदै
बाइस महिनायता इजरायलको आक्रमणपछि गाजामा पानीको पहुँच अत्यन्त सीमित भएको छ । ईन्धन र बिजुलीको आपूर्तिमा रोक, समुद्री पानी शुद्ध गर्ने केन्द्रहरूको बन्द अवस्थाले यो संकटलाई अझ चर्काएको छ । पानीका पाइपलाइनहरू नष्ट भएका छन्, इनफ्रास्ट्रक्चर बमबारीमा ध्वस्त छ र अधिकांश इनार अब पहुँचयोग्य छैनन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनआरडब्लुए) का अनुसार अहिले गाजाका स्वास्थ्य केन्द्रहरूमा साप्ताहिक झन्डै १० हजार ३०० जना पानीजन्य संक्रमण (विशेषगरी झाडापखाला) का बिरामीहरू उपचारका लागि पुगिरहेका छन् ।

युनिसेफले दिएको तथ्यांकअनुसार, फेब्रुअरीमा झाडापखालाको दर २० प्रतिशत मात्र थियो, जुन जुलाईमा बढेर ४४ प्रतिशत पुगेको छ — जसले बालबालिकामा निर्जलीकरणको खतरा बढाएको छ ।

फोहोर पानी पिउन बाध्य
अहिले धेरै मानिसहरू गहिरो जमिनबाट निकालिएको खार पानी (नुनिलो र अशुद्ध) पिउन बाध्य छन्, जुन पहिले सफा गर्न वा खेतीपातीका लागि मात्र प्रयोग गरिन्थ्यो । गाजाको पानी सेवा प्रमुख मोन्थर शोब्लाकका अनुसार, उनीहरूले अस्पताल र नागरिकहरूलाई प्राथमिकता दिएर पानी बाँडिरहेका छन्, जसको अर्थ नाली र ढल सफा गर्न चाहिने पानी रोक्नु परेको छ ।

“खाना बिना केही दिन बाँच्न सकिन्छ, तर पानी बिना होइन,” शोब्लाकले बताउनुभयो ।

के केही आशा बाँकी छ ?
इजरायलले हालै केही पाइपलाइन पुनः जडान गरेको छ र एउटा शुद्धिकरण केन्द्रलाई बिजुली दिएको छ । साथै, संयुक्त अरब इमिरेट्सको सहयोगमा मिस्रको सीमामा बन्न लागेको नयाँ शुद्धिकरण केन्द्रबाट पानी आपूर्ति सुरु हुने आशा गरिएको छ ।

तर, मानवीय सहायता समूहहरूले चिन्ता व्यक्त गर्दै, यदि इजरायलले अझै नयाँ सैन्य कारबाही थाल्यो भने, विशेषगरी गाजा सहर र मुवासी क्षेत्रमा, पानी र सहायता पुनः अवरुद्ध हुन सक्ने बताएको छ ।

जनताको त्रास
मुवासीको शिविरमा बसोबास गरिरहेका होस्नी शाहीन भन्नुभयो,“यो पानीले बच्चालाई पेट दुख्ने बनाउँछ । जब छोराछोरीलाई यो पानी दिनुपर्छ, हामी सुरक्षित छौं जस्तो लाग्दैन ।” (रासस/एपी)

तपाईको प्रतिक्रिया