मास्को, ३१ साउन : रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ ।
मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ ।”
यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो । अहिलेसम्म घटना स्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरि खोजी र उद्धार कार्य जारी छ ।
आगलागी स्थानीय समय अनुसार बिहान १०ः३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा शुरू भएको थियो । स्थानीय अनुसन्धान निकायहरूले यस घटनालाई औद्योगिक सुरक्षा नियमहरूको उल्लङ्घनको मामलामा हेरेर गम्भीर अनुसन्धान अगाडि बढाएका छन् । (रासस/सिन्ह्वा)