अमेरिका–रुस शिखर वार्ताको पूर्वसन्ध्यामा विश्व बजारमा सुधार

  ३ घण्टा अगाडि

लन्डन, ३० साउन : युक्रेन युद्ध अन्त्यको आशामा आज हुँदै गरेको ऐतिहासिक अमेरिका–रुस शिखर वार्ताको प्रतीक्षामा विश्व शेयर बजारमा सुधार देखिएको छ ।

संयुक्त राज्य अमेरिका (यूएस) का राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज अलास्कामा प्रत्यक्ष वार्ताका लागि भेट्ने कार्यक्रम रहेको छ ।

एशियाका प्रमुख बजार उच्च बिन्दुमा बन्द भएपछि युरोपेली बजारहरूले पनि सकारात्मक गति लिएको बजार विश्लेषकहरूले बताउनुभएका छन् । स्कोप मार्केट्सका प्रमुख विश्लेषक जोशुआ महोनीका अनुसार ट्रम्प–पुटिन बैठकले युक्रेन युद्ध अन्त्यको सम्भावनालाई बल दिएको छ, जसले लगानीकर्तामा आशावाद बढाएको हो ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बैठकको परिणामबारे पूर्वानुमान नगर्ने आफ्नो देशको नीति दोहोर्याउँदै भन्नुभयो, “हामी पूर्वानुमान लगाउँदैनौँ ।” लाभरोभ अलास्का अवतरणपछि रुसी राज्य टेलिभिजनसँग कुरा गर्दै थिए ।

पुटिन सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमणको आदेश दिएयता पहिलो पटक पश्चिमी भूमिमा पाइला टेक्दै छन् । सो युद्धमा हालसम्म हजारौंको ज्यान गइसकेको छ । यस बैठकमा पुटिनको प्रत्येक अभिव्यक्ति र हाउभाउमा युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विशेष ध्यान दिने अपेक्षा गरिएको छ । जेलेन्स्कीलाई बैठकमा आमन्त्रण गरिएको छैन र उहाँले रुसद्वारा कब्जा गरिएका भूभाग सुम्पनुपर्ने अमेरिकी दबाब अस्वीकार गरिसकेका छन् ।

“कुल मिलाएर बजारको धारणा सकारात्मक देखिन्छ,“ एजेबेलका लगानी निर्देशक रस मोल्डले बताउनुभयो । तेलको मूल्यमा केही अस्थिरता देखिएको छ, किनकि व्यापारीहरूले रुसबाट पश्चिमी मुलुकहरूतर्फ निर्यात पुनः सुरु हुने सम्भावनाको आंकलन गरिरहेका छन् । बिहीबार मूल्यमा वृद्धि देखिए पनि शुक्रबार कच्चा तेलको भाउ केही घटेको छ ।

अन्य क्षेत्रमा, जापानी अर्थतन्त्रको अपेक्षाभन्दा राम्रो वृद्धि देखिएपछि टोकियोको प्रमुख शेयर सूचकांकले नयाँ कीर्तिमान कायम राखेको छ । त्यसैगरी, कमजोर आर्थिक तथ्याङ्कका कारण चिनियाँ बजारहरूमा मिश्रित प्रदर्शन देखिएको छ ।

अमेरिकी बजार भने बिहीबार स्थिर देखिएको थियो, किनभने थोक मुद्रास्फीति सम्बन्धी तथ्याङ्कले केन्द्रीय बैंकले चाँडै ब्याजदर घटाउने अपेक्षामा केही कमी ल्याएको हो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया