स्वस्थ्य संस्थालाई ‘डिएचआइएस टु’को युजरनेम र पासवर्ड लिन कामपाको आग्रह

  १० घण्टा अगाडि

काठमाडौँ, ३० साउन : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (डिएचआइएस टु) प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ ।

कामपा स्वास्थ्य विभागले महानगर क्षेत्रमा रहेका तीन सय ६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थालाई युजरनेम र पासवर्ड लिन आग्रह गरको विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)मार्फत सङ्कलन हुँदै आएकामा अब यो प्रक्रियालाई अनलाइन प्रणाली (डिएचआइएस टु)मा रूपान्तरण गर्न लागिएको छ । यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजतपत्रको प्रतिलिपि जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपिसहित यथाशीघ्र कामपा स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो ।

उक्त प्रणलीले सामुदायिक र निजी दुवै स्वास्थ्य संस्थाको प्रतिवेदन समयमै प्राप्त गर्न सहयोग गर्छ । विशेषगरी निजी स्वास्थ्य संस्थाको तथ्याङ्क सङ्कलनमा कमी देखिएको छ, जसले गर्दा कामपाको समग्र स्वास्थ्य प्रतिवेदन प्रभावित भएको छ ।

निरीक्षक श्रेष्ठका अनुसार उक्त प्रणालीको सहायताले पछिल्लो समय कस्ता रोगहरू बढ्दैछन्, कुन पोलिक्लिनिकमा कस्ता बिरामीको उपचार भइरहेको छ, रोगको प्रवृत्ति कस्तो छ भन्ने कुरा पत्ता लगाउन सहयोग गर्छ । “पहिले सङ्क्रामक रोगको जोखिम बढी थियो, अहिले नसर्ने तथा दीर्घ रोगहरू उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता रोग बढ्दैछन् । यसले स्वास्थ्य क्षेत्रमा कस्तो लगानी आवश्यक छ, कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्छ,” उहाँले भन्नुभयो ।

कामपामा ३३ वटा सरकारी स्वास्थ्य संस्थाले नियमित रूपमा प्रतिवेदन बुझाइरहेका छन् । ठूलो सङ्ख्यामा रहेका निजी स्वास्थ्य संस्थाको तथ्याङ्क समयमै नआउँदा समग्र स्वास्थ्य अवस्थाको विश्लेषण गर्न कठिनाइ भएको छ । यदि सबै संस्थाले समयमै प्रतिवेदन बुझाए भने हामीले रोग पहिचान गर्न, स्वास्थ्य लगानीलाई प्राथमिकीकरण गर्न सजिलो हुने कामपाले उल्लेख गरेको छ ।

कामपाले सबै स्वास्थ्य संस्थालाई भदौ १५ गतेभित्र आफ्नो ‘युजरनेम’ र ‘पासवर्ड’ लिई उक्त प्रणालीमा नियमित प्रतिवेदन बुझाउन आह्वान गरेको छ । यसले स्वास्थ्य तथ्याङ्कलाई व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै स्वास्थ्य संस्थालाई कागजातसहित छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया