दमक (झापा), २२ साउन : जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल-६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आउनुभएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।
बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आउनुभएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
छ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता, यसैबीच, प्रनाउ तिमल्सिनाले कमाण्ड सम्हालेयता छ महिनाको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । गत माघ १ गतेदेखि हालसम्म लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको उहाँले उल्लख गर्नुभयो ।
उहाँका अनुसार गत माघ १ देखि हालसम्म ब्राउनसुगर ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट, स्पास्पेन ३० हजार १६६ चक्की, स्पास्म एक हजार ६०९ चक्की, गाँजा एक किलो ४०० ग्राम बरामद गरिएको छ । प्रनाउ तिम्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा व्यवस्थापन, अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्त्वपूर्ण कार्य भएको दाबी गर्नुभयो ।
उहाँका अनुसार पछिल्लो छ महिनामा सवारी ज्यानसम्बन्धी नौ वटा मुद्दा दर्ता भई नौ जना पक्राउ, कर्तव्य ज्यानसम्बन्धी तीन वटा मुद्दा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकामा एघार जना पक्राउ परेका छन् भने २५ जना फरार रहेको उहाँले जानकारी दिनुभयो ।