त्रिवेणी (रुकुम पश्चिम), ३० असारः रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्दको शव पोष्टमार्टनको लागि नलगाड नगर अस्पतालमा राखिएको छ । मृतकका आफन्त, वडा अध्यक्षलगायतको टोली घटनाको विषयमा इलाका प्रहरी कार्यालय नलगाडमा छलफल गरिरहेको बताएको छ । छलफल पश्चात पीडित पक्षबीच सहमति भएपछि शवको परीक्षण गरिने वडाध्यक्ष पुनले बताउनुभयो ।