काठमाडौँ, २८ असार : आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन सङ्घर्ष समितिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको छ ।
समितिका अध्यक्ष इन्द्रजीत साफीलगायत पदाधिकारीको टोलीले आज गृहमन्त्री लेखकलाई भेटेर आमाका नामबाट नागरिकता दिने व्यवस्थासहित लाखौँ नागरिकताविहीनलाई नागरिक बनाउन नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएर राष्ट्रियसभामा पेस भएकामा गृहमन्त्रीलाई धन्यवाद दिएको छ ।
“नेपालको संविधानअनुसार सबैले नागरिकता पाउनुपर्छ, कानुनको अभावमा कसैले त्यो नपाएको भए वाधक कानुन परिमार्जन गर्नेगरी छलफल गर्नुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो ।