अगस्ट १ देखि क्यानाडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

  १६ घण्टा अगाडि

वासिङ्टन, २७ असार  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको छ ।

यो सोमबारदेखि ट्रम्पले जारी गर्नुभएका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो, जसमा उहाँले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राख्नुभएको छ ।

क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिन्छ ।

युएसएमसिए भनिने तीन मुलुकलाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् ।

“संयुक्त राज्य अमेरिकासँग हालको व्यापार वार्ताका क्रममा क्यानाडा सरकारले दृढतापूर्वक हाम्रा कामदार र व्यवसायहरूको रक्षा गरेको छ । हामी अगस्ट १ को संशोधित समयसीमातिर काम गर्दा हामी त्यसलाई जारी राख्नेछौँ”, कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बिहीबार राति पोस्ट गर्नुभयो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पुनः वार्ताका लागि सफलतापूर्वक दबाब दिनुभएपछि संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताले सन् २०२० जुलाईमा अघिल्लो नाफ्टा सम्झौता प्रतिस्थापन गरेको थियो । 

अर्को वर्ष जुलाईसम्म यसको समीक्षा हुने तय थियो, तर ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि आफ्नो व्यापार युद्ध सुरु गरेर प्रक्रियालाई अव्यवस्थित बनाउनुभएको छ ।

क्यानाडा र मेक्सिकोका उत्पादनहरू सुरुमा क्यानाडाली ऊर्जाका लागि कम दरका साथ २५ प्रतिशत अमेरिकी भन्सार शुल्कले नराम्ररी प्रभावित भएका थिए ।

ट्रम्पले दुवै छिमेकीलाई निशाना बनाएर अवैध आप्रवासन र सीमापार अवैध लागुऔषधको प्रवाहमा पर्याप्त काम नगरेको बताउनुभयो ।

तर अन्ततः उहाँले युएसएमसिए अन्तर्गत आफ्नो देशमा प्रवेश गर्ने सामानहरूका लागि छुटको घोषणा गर्नुभयो, जसले उत्पादनहरूको ठूलो भागलाई समेटेको थियो ।

बिहीबारको पत्र ट्रम्प र कार्नीबीच न्यानो सम्बन्धका बावजुद आएको हो । कार्नीले क्यानाडा अमेरिकाको ५१औँ राज्य बन्नुपर्छ भन्ने आफ्ना समकक्षी ट्रम्पको नियमित विचारको सामना गरिरहनुभएको छ ।

पारस्परिकता 

क्यानाडाली प्रधानमन्त्री कार्नी मे ६ मा ह्वाइट हाउस आउनुभएको थियो र ओभल अफिसमा ट्रम्पसँग सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको थियो ।

उहाँहरूले गत महिना क्यानाडामा भएको जी–७ शिखर सम्मेलनमा फेरि भेट गर्नुभएको थियो । त्यहाँ नेताहरूले ट्रम्पलाई आफ्नो दण्डात्मक व्यापार युद्धबाट पछि हट्न दबाब दिएका थिए ।

क्यानाडाले पनि अमेरिकी प्रविधि कम्पनीहरूलाई असर गर्ने करहरू खारेज गर्न सहमति जनाएको थियो । यसले ट्रम्पलाई बदला लिन र व्यापारिक वार्ता रद्द गर्न प्रेरित गरेको थियो ।

छुट्टै, ट्रम्पले एनबिसीसँगको अन्तर्वार्तामा आफ्नो पत्र नपाएका देशहरूमा अगस्ट १ मा १५ देखि २० प्रतिशतको व्यापक भन्सार शुल्क लगाउनेबारे पनि सोचिरहेको घोषणा गर्नुभयो । 

पत्रहरूले अगस्ट १ अघि राम्रा सर्तहरू फेला पार्न नसकिए ब्राजिलको मामिलामा ५० प्रतिशतसम्म भन्सार शुल्क दरहरू अगस्ट १ मा लागू हुने घोषणा गरेको छ ।

अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार २७ देशको युरोपेली सङ्घ (इयु) लाई पत्र ‘आज वा भोलि (शुक्रबार)’ पठाइने ट्रम्पले एनबिसीलाई बताउनुभयो ।

ट्रम्पले आफ्नो कडा भन्सार शुल्कले देशमा प्रहार गर्ने बताउनुभएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार उहाँ अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताउनुभयो । 

यद्यपि उहाँले ब्राजिल सरकारले पारस्परिक उपायहरूको मूल्याङ्कन गरिरहेको कुरा दोहोर्‍याउनुभयो ।

लुलालाई सम्बोधन गरेको पत्रमा ट्रम्पले आफ्नो दक्षिणपन्थी सहयोगी जाइर बोल्सोनारोसँगको व्यवहारको आलोचना गर्नुभएको छ ।  (रासस/एएफपी)

तपाईको प्रतिक्रिया