तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

  ११ घण्टा अगाडि

भियना, २२ असार : पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ले शनिवार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ । यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो ।

ओपेकको पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो । यो एक अन्तर्राष्ट्रिय संगठन हो,जसको स्थापना सन् १९६० सेप्टेम्बर १४ मा इराकको बगदादमा गरिएको थियो । हाल यसको मुख्यालय अस्ट्रियाको भियना शहरमा छ ।

ओपेकको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच सहकार्य गर्दै विश्व बजारमा कच्चा तेल (पेट्रोलियम) को मूल्य स्थिर राख्नु, तेलको आपूर्तिमा सन्तुलन कायम गर्नु र सदस्य राष्ट्रहरूको आर्थिक हितको रक्षा गर्नु हो । ओपेकले विश्व बजारको मागअनुसार उत्पादनको मात्रा घटाउने वा बढाउने नीति अपनाएर अन्तर्राष्ट्रिय तेल मूल्यमा सन्तुलन ल्याउने प्रयास गर्दछ ।

जुलाई महिनामा ओपेक प्लसले दैनिक चार लाख ११ हजार ब्यारेलले उत्पादन बढाएको थियो । समूहले उत्पादनमा गरिएको कटौतीलाई बिस्तारै हटाउने योजनाअनुसार यो निर्णय लिएको हो ।

बैठकमा साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब इमिरात, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमान लगायतका सदस्य राष्ट्रहरूले विश्व बजारको अवस्था र भविष्यको अनुमानबारे छलफल गरेका थिए ।

ओपेकको वेबसाइटमा जारी वक्तव्यअनुसार, हालको विश्व अर्थतन्त्र स्थिर देखिएको र तेलको भण्डारण (स्टक) न्यून भएकोले बजार अवस्था बलियो देखिएको छ, जसको आधारमा उत्पादन वृद्धिको निर्णय गरिएको हो ।

तर वक्तव्यमा यदि बजारमा अप्रत्याशित परिवर्तन आएमा, यो वृद्धि रोकिने वा उल्टो रूपमा फेरिन पनि सक्ने भनिएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया