सुदूरपश्चिम प्रदेशः नगरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  १२ घण्टा अगाडि

सुदूरपश्चिम, २० असार : नागरिक उन्मुक्ति पार्टी संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गर्नुभएपछि धनगढीमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गर्नुभएको थियो । बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको केन्द्रबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आएको पत्रको आधारमा समर्थन फिर्ता लिने निर्णय गरिएको जानकारी दिनुभयो । प्रदेशसभामा चौथौ ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् ।

सो पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेपनि शाह नेतृत्वको सरकारको पक्षमा बहुमत कायम छ । मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो हप्तामा पदबाट राजीनामा दिन निर्देशन दिनुभएपनि उहाँले राजीनामा दिनु भएको थिएन । सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई वेवास्ता गरिएपछि मन्त्री चौधरी पदमुक्त हुनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ जना प्रदेशसभा सदस्य छन् । प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र्र)सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।

तपाईको प्रतिक्रिया