विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

  २४ घण्टा अगाडि

झापा, १८ असारः मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानीको धारा जडान गर्न बजेट नै सुनिश्चित गरिएको हो । 

न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि पालिकाले रु ४७ लाख ५० हजार बजेटमा विनियोजनको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले पालिकाभित्र रहेका खानेपानी संस्थाहरुसँगको सहकार्यमा कार्यविधि बनाएर धारा जडान गरिने योजनासहित बजेट विनियोजन गरेको बताउनुभयो ।

यसैगरी नगरपालिकाले बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा धेरै रकम विनियोजन गरेको छ । बजेटमा उल्लेख भएअनुसार चिया बगान तथा अन्य क्षेत्रका श्रमिकका लागि ‘बिमा कार्यक्रम’ शीर्षकमा रु २५ लाख रकम विनियोजन गरेको हो ।

नगरप्रमुख गोपाल बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको स्वास्थ्य बिमामा उक्त रकम खर्च गरिने बताउनुभयो । उहाँका अनुसार मेचीनगरले विनियोजन गरेको यस बजेटबाट ७०० भन्दा बढी श्रमिक परिवार लाभान्वित हुने भएका छन् ।

मेचीनगरमा नेपाल चिया विकास निगमको टोकला चिया बगानलगायत दर्जनौँ ठूला र साना चिया बगान रहेका छन् । तीबाहेक यातायात, कृषि, ढुवानीलगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा श्रमिक कार्यरत छन् ।

तपाईको प्रतिक्रिया