विराटनगर, ११ असार : कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएको छ । यही असार ७ गते सभामा टेबुल भएको विनियोजन विधेयकको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।
प्रदेशसभा सदस्यहरुको प्रश्नका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेटमा पुँजीगत खर्चभन्दा चालु खर्च बढी देखिनुको कारण सङ्घबाट प्राप्त हुने रकम पनि चालु खर्चमै राख्नुपर्ने बाध्यताका कारणले भएको बताउनुभयो । कोशी प्रदेशमा लोकसेवा आयोगबाट कर्मचारीहरु पदपूर्ति हुनु र महङ्गीभत्ताका कारणले चालु खर्च बढेको उहाँको भनाइ थियो ।
उहाँले योजना बैंकमा ५० हजारभन्दा बढी योजनाहरु समावेश हुनु सरकारको पहिलो अभ्यास भएको उल्लेख गर्दै सभा सदस्यहरुले छानेका योजना र सरकारले आवश्यकता महसुस गरेका योजनामा मात्र बजेट विनियोजन भएको दाबी गर्नुभयो ।
उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले कृषिका लागि आवश्यक रासायनिक मलका लागि प्रदेश सरकारले समन्वयमात्र गर्न सक्ने भन्दै उत्पादन बढाउन जैविक मलमा पनि कृषक आकर्षित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासे बजेटले रोजगार सिर्जना गर्न नसक्ने भएकाले उत्पादन क्षेत्रमा बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आफ्नो मन्त्रालयअन्तर्गत दुई हजार ८२८ योजना सञ्चालनमा रहेको जानकारी दिँदै १४ वटा स्थानीय तहमा वास प्लान्टका लागि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले ३७ वटा बहुवर्षीय योजना समावेश भएको भन्दै प्रदेश सरकारले थोरै समयमा १२ हजार ८०० हेक्टर जग्गामा सिँचाइको प्रबन्ध मिलाएको उल्लेख गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद् व्यवस्थापन, कानुन निर्माण, यातायात व्यवस्थापन र भूमि व्यवस्थापन जस्ता काममा मन्त्रालयका लागि कुल रु ९६ करोड मात्र बजेट विनियोजन भएको बताउनुभयो । सीमित बजेटबाट प्रदेश अत्यधिक लाभ लिने र जनतामा सुशासन, शान्ति र सेवा प्रवाह जस्ता कार्यमा बजेटको समुचित उपयोग हुने उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले जनताको चाहनाअनुसार प्रहरी चौकी भवन निर्माण गर्ने, अधुरा रहेका प्रहरी चौकीलाई पूर्णता दिने भन्दै सरकार लागु औषध नियन्त्रण, सवारी दुर्घटनालाई न्यूनीकरण जस्ता क्षेत्रमा योजनाबद्ध काम गर्ने जानकारी दिनुभयो ।
पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूले जनताको चाहना अनुसारकै योजनामा बजेट विनियोजन गरेको स्पष्ट पार्दै सरकार पर्यटन प्रवर्द्धन, पदमार्गका लागि पनि बजेटको व्यवस्था गरेको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश मातहतमा रहेका जिल्ला सरकारी अस्पताललाई व्यवस्थित गरिने बताउनुभयो । उहाँले अ।स्पतालमा जनशक्ति भएको ठाउँमा उपकरण नहुने र उपकरण भएको ठाउँमा जनशक्ति नहुने अव्यवस्थालाई व्यवस्थित गर्ने भन्दै अस्पतालको स्त्तरोत्रतिसँगै जनशक्तिको पनि आवश्यक प्रबन्ध मिलाउने बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।
उहाँले बहुवर्षीय योजना सम्पत्र भएका रकम भुक्तानी गर्न समस्या नरहेको स्पष्ट पार्दै क्रमाङ्गगत र अधुरा योजना सम्पत्र भएमा तुरुन्तै भुक्तानी दिन मन्त्रालय सक्षम रहेको बताउनुभयो । उहाँले विगतमा पूर्वाधार मन्त्रालयमा बेथिति प्रवेश गरेकाले यसलाई समाधान गरेको उल्लेख गर्नुभयो ।
उहाँले ग्रामीण सडक सुधार आयोजनामा सङ्घ सरकारले बेहोर्ने रकम नआएकाले प्रदेश सरकारले यसको दायित्व बेहोर्न नसक्ने भन्दै कोशी प्रदेशमा सबैभन्दा पछाडि परेका खोटाङ जिल्लामा पूर्वाधार विकास गर्न बजेटको व्यवस्था भएको कुरामा जोड दिनुभयो ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले ४४ वटा कार्य क्षेत्र रहेको यो मन्त्रालयमा व्यवस्था भएको बजेटबाट सक्दो जनताको माग सम्बोधन हुने बताउनुभयो । उहाँले मुसहर समुदायका लागि सक्षम छोरी र पहाडमा आवासीय विद्यालय निर्माण गर्न पनि बजेट विनियोजन भएको बताउनुभयो ।
प्रदेशसभाको अर्को बैठक यही असार १२ गते बिहान ११ बजे बस्नेछ ।