आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

  १२ घण्टा अगाडि

धनुषा, ११ असार : स्थानीय तहले असार १० गते सभा सम्पन्न गर्नुपर्ने प्रावधानअनुसार गाउँ तथा नगरसभाबाट बजेट ल्याउनुपर्ने प्रावधान भए पनि आन्तरिक विवादका कारण यहाँका छ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नै ल्याउन सकेका छैनन् ।

बजेट ल्याउन नसकेका स्थानीय तहमा मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिका रहेका छन् । यी स्थानीय तहले बजेट तयारी नपुगेको, आन्तरिक विवाद, जनप्रतिनिधिबीचको मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समयमै बजेट पेश गर्न नसकेको जनाएका छन् ।

नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम लाल कर्णले नगर अधिवेशनको लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थित रहेकाले बजेट पेस गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठक नै नबस्दा नगरसभामा बजेट पेस गर्न नसकिएको हो ।

त्यस्तै अन्य स्थानीय तहमा पनि प्रमुख तथा उपप्रमुखबीचको समन्वय अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेदका कारण निर्धारित समयभित्र बजेट पेस हुन नसकेकोे बताइएको छ ।

केही स्थानीय तहमा राजनीतिक विवादका कारण निर्धारित समयमा बजेट पेस नहुनु गम्भीर समस्या भएको क्षीरेश्वरनाथ–५ महेन्द्रनगरका युवा रोहित खनालले बताउनुभयो । समयमै नीति, कार्यक्रम तथा बजेट नल्याउँदा सार्वजनिक सेवा प्रवाह, विकास आयोजना जस्ता महत्वपूर्ण काममा असर पर्न सक्ने उहाँको भनाइ छ ।

यस्तै मिथिला बिहारी, बटेश्वर, मुखियापट्टी मुसहरनिया, जनकनन्दनी, विदेह र जनकपुरधाम नगरपालिकाले मङ्गलबार बजेट सार्वजनिक गरेका छन् भने लक्ष्मिनियाँ, धनुषाधाम, गणेशमान चारनाथ, सहिदनगर र धनौजी नगरपालिकाले भने त्यसअघि नै आफ्नो नीति, कार्यक्रम तथा बजेट पेस गरिसकेको छन् ।

तपाईको प्रतिक्रिया