चिनियाँमा हामीले संसारलाई देखाउनुपर्छ, हामी संसारको नम्बर वान हुनुपर्छ। हामीसँग ताकत छ भन्ने भावना रहेछ ।

  असार ११, २०८२

जनकलाल पाठक, नेपालको झापा गौराहदका बासिन्दा हुनुहुन्छ । सन् २०१८ देखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै आउनुभएको छ । चीनमा अध्ययन गरेर वा चीनमा रहेर कुनै पनि पेशा अँगालेका नेपालीहरु नेपालका सद्भावना दूत हुन् जसको योगदानले देशको इज्जत प्रतिष्ठा उँचो हुन्छ । साझाखबरका लागि क्वाङ्चौदेखि संवादमा आमन्त्रित पाठकसँगको कुराकानीको केही अंशः   

तपाइँ चीनको व्यापारिक सहर क्वाङ्चौमा रहेर के भूमिका निर्वाह  गर्दै हुनुहुन्छ?

सन् २०१८ देखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा छु । मेरो मुख्य काम मेडिकल विद्यार्थीहरूलाई रिसर्च गाइड गर्ने हो । एमबीबीएस, एमडी, पीएचडी, पोस्ट डकका विद्यार्थीहरूलाई उनीहरूको रिसर्च डिजाइन, रिसर्च पूरा गराउने, थेसिस लेख्ने र प्रकाशित गर्न सहयोग गर्ने मेरो जिम्मेवारी हो । रिसर्च स्टुडेन्टहरूको रिसर्चको लागि ग्रान्ट / फन्डिङ जुटाएर रिसर्च गराउँछु ।

अहिलेसम्म चीनको मेडिकल लाइनमा काम गर्दाको उपलब्धि के हो ?

मैले तत्कालै भन्नुपर्दा ३ वर्ष अगाडितिर एउटा ग्राण्ट पाएँ । नेसनल नेचुरल साइन्स फाउन्डेसन अफ चाइना भन्ने ग्रान्ट (करीब ४ मिलियन युआन) विद्यार्थीहरूलाई रिसर्चका लागि फन्डिङ जुटाउन सकें । त्यसको एक वर्षपछि क्वाङ्चौ सहरकै रिसर्च ट्रान्सलेसनको काम गरें । रिसर्च गरेका कुराहरूलाई बिरामीहरूको उपचारमा प्रयोग गर्ने भन्ने कुरा थियो । त्यसको लागि ५ मिलियनको ग्रान्ट पाएँ ।

त्यसपछि सन् २०२४ सालमा चीनको मात्रै होइन, विश्वकै एउटा वैज्ञानिकका लागि र्याङ्किङ हुँदो रहेछ । विश्वकै ग्रेडिङ जसमा उच्च दुई प्रतिशत बैज्ञानिक भन्ने हुँदो रहेछ । त्यसको ग्रेडिङ चाहिँ स्टान्फोर्ड युनिभर्सिटि अर्को एल्सह्वेयर भन्ने रिसर्च स्रोतका प्रकाशन गृहले संयुक्त रूपमा दुई प्रतिशत वैज्ञानिकमा छनोट भएँ ।

त्यसैगरी चीनकै क्वाङतोङ प्रान्तको फरक फरक क्षेत्रका विदेशी दक्ष जनशक्तिहरू जो शिक्षा क्षेत्रमा कार्यरतहरूलाई उनीहरूको क्षमताको आधारमा ‘इन्टरनेशनल कोल्याबोरेसन सपोर्ट एक्टिभिस्ट’ भनेर २०२४ को अन्त्यमा उपलब्ध गराएको थियो । चीनमा एमबीबीएस विद्यार्थीहरूको लागि एउटा राष्ट्रव्यापी स्पर्धा हुन्छ । सन् २०२४ मै बिआरआईका देशहरु पनि सहभागी भएको अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । हाम्रै प्रशिक्षणमा दुई वटा समूह बनाएर सहभागी गराएका थियौँ । त्यहाँ युनिभर्सिटी र प्रान्त स्तरमा स्पर्धा भयो । राष्ट्रिय स्तरको प्रतियोगितामा फरक फरक देशबाट बीआरआईसँग आबद्धले भाग लिएका थिए । त्यसमा हाम्रो एक समूहले गोल्ड मेडल र अर्कोले सिल्भर मेडल प्राप्त गरे । यो हाम्रो युनिभर्सिटिको लागि ठूलो उपलब्धि थियो।

सन् २०२५ मा युनिभर्सिटिले प्रकाशन गर्ने न्युज बुलेटिनमा नेपाली विदेशी वैज्ञानिक जसले चिनियाँ भाषामा पढाउँदै ठूलो योगदान दिएको छ भनेर छापियो । त्यसको तात्पर्य के हो भने यो युनिभर्सिटीमा धेरै विदेशी विभाग छन् । प्रायःले अङ्ग्रेजीमा पढाउँछन्, मैले चिनियाँमा पढाउँछु । त्यसैले उनीहरूलाई राम्रो प्रभाव परेको हुनसक्छ ।

कस्तो अनुभूति हुँदो रहेछ त, त्यस्तो उपलब्धि हासिल गर्दा?

उपलब्धिसँगै जिम्मेवारी पनि बढ्दै जाने रहेछ । नेपालीहरू पनि कोही भन्दा कम छैनन् । नेपालीहरुले विश्वका विभिन्न देशमा रहेर मेडिसिन रिसर्चमा धेरै राम्रो गरेका छन् । नेपालीहरू मेहनती छन्, अवसरको खाँचो छ । धेरै नेपालीहरू हुनुहुन्छ, अमेरिका, क्यानडा, अष्ट्रेलियामा रिसर्चमा, मेडिसिनमा धेरै राम्रो गरिरहनुभएको छ । हाम्रो देशको तुलना गर्ने हो भने यो उपलब्धि ठूलो हो तर समग्र चीनको तुलनामा यो उपलब्धि थोरै हो । उनीहरूको स्तरमा पुग्न अझै मेहनत गर्नु छ । यस्तो उपलब्धीले आगामी दिनमा अगाडि बढ्न प्रोत्साहन मिल्छ । नेपालीहरू पनि अवसर पाएको खण्डमा चिनियाँभन्दा कम छैन भनेर देखाउनुपर्छ । अहिलेसम्म पाएको उपलब्धिबाट अलिअलि गौरबान्वित नै छु । अझै धेरै गर्न बाँकी छ ।

तपाईँको चिनियाँ भाषा कस्तो छ? कसरी चिनियाँ मेडिकल दुनियाँमा प्रवेश गर्नुभएको हो ?

सन् २००७ मा वुहानको ह्वाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा म आएँ । मेरो मास्टर्स चाहिँ क्लिनिकल मेडिसिनको ल्याबोरेटरी मेडिसिनमा हो । २००७ देखि २००८ सम्म चिनियाँ भाषा मात्र पढ्यौँ किनकि नेपालको शिक्षा मन्त्रालय अन्तर्गत चीन सरकारको छात्रवृत्ति भएकाले भाषा सिक्नु अनिवार्य थियो । चिनियाँ भाषा स्तर मापक एचएसके ६ पार गरेपछि मात्रै आफ्नो क्लिनिकल मेजरमा अगाडि बढ्न पाइने युनिभर्सिटीको नियम नै थियो । सुरूमा भाषा सिक्न गाह्रो भएपनि अन्ततः धेरै कुरा सिक्ने मौका मिल्यो । मास्टर्सको अन्तिम वर्षमा एचएसकेको परीक्षा दिँदा ९ मा ८ अङ्क प्राप्त गरेँ । त्यतिबेला लगभग ४० हजारजति चिनियाँ अक्षर लेख्न, पढ्न सिकेको थिएँ ।

चीनमा भाषिक कठिनाई भएको धेरैको गुञ्जायस रहन्छ, तैपनि चीनमा अध्ययनका लागि आकर्षण तीब्र देखिनुको कारण के रहेछ ?

हो, चीनमा भाषिक कठिनाई भए तापनि विद्यार्थीहरू आकर्षित हुनुको मुख्य कारण चाहिँ यहाँको जीवनशैली पश्चिमाहरूको भन्दा राम्रो हुँदै जानुका साथै कम खर्चिलो हुनु हो । अर्को पक्ष भनेको सामाजिक सुरक्षा हो । युनिभर्सिटी जीवन पनि रमाइलो छ । चिनियाँहरूले विदेशीहरूलाई धेरै माया गर्छन्, मैत्रीपूर्ण हुन्छन् । जो भाषा सिक्छ, सिक्नलाई इच्छुक छ, उनीहरूका लागि यो एउटा अवसर हो । भाषा सिक्न नचाहनेहरुलाई अलिक गाह्रै हुन्छ । तर अहिले टेक्नोलोजीले फट्को मारिसक्यो । अनुवादका धेरै एपहरू छन् र नयाँ पुस्ताको अंग्रेजी धेरै राम्रो छ । तर एपले अल्छी बनाएको छ । कुनै पनि देशको भाषा, संस्कृति सिक्नाले जीवन सहज हुन्छ ।

लामो समयदेखि चिनियाँ जीवनसँग परिचित हुनुहुन्छ । नेपाली विद्यार्थीको चीन प्रवाह हेर्दा कस्तो देखिन्छ ?

म विगत १४ वर्षदेखि चीनमा बस्दै आएको छु । त्यो समयमा सीमित छात्रवृत्ति पाएका विद्यार्थीहरू चीनमा अध्ययनका लागि आउँथे । आफैँले पैसा तिरेर निश्चित युनिभर्सिटीमा एमबीबीएस पढ्नेको संख्या बढी थियो । पछाडि छात्रवृत्ति बढ्दै गयो । पहिले सी.एस.सी छात्रवृत्ति मात्र पाइन्थ्यो । पछि प्रदेशस्तरीय, नगरस्तरीय, युनिभर्सिटी स्तरको र पछि बीआरआईको छात्रवृत्ति आउन थालेपछि विद्यार्थीको संख्या बढ्न थाल्यो ।

चीन र नेपालको सम्बन्ध राम्रो भएकाले छात्रवृत्तिको संख्या राम्रै थियो तर कोभिड-१९ महामारी पछि अलि घट्यो । महामारी पछि भने मेडिकल र इन्जिनियरिङ पढ्ने आफ्नै खर्चमा आउनेको संख्या घटेको छ । अहिले अरू विषय पढ्न आउने गरेका छन् । यसकारणले पनि नेपाली समाजमा चीनको विकासबारे बुझ्न बुझाउन सहज भएको छ ।

चिनियाँ शैक्षिक प्रणालीमा भाषिक कठिनाइ कस्तो देख्नुहुन्छ ?

अचेल चीनको जनसंख्या घट्दो क्रममा छ । यसको असर युनिभर्सिटीहरूमा पनि देखिँदै छ । आगामी दिनमा विद्यार्थीको संख्या बढाउनका लागि चीनले पाठ्यक्रम पनि अंग्रेजीकरण गर्दैछ । पहिले पहिलेको विश्वको ग्रेडिङ हेर्ने हो भने उत्कृष्ट १०० भित्र पनि पर्दैनथ्यो । अहिले बेइजिङ, छिङ्ह्वा, फुतान टप टेनमा पर्छन् । चीनका युनिभर्सिटीको स्तर धेरै माथि पुगिसकेको छ । नेपाली विद्यार्थीहरूका लागि लगानीको हिसाबले पनि सुलभ र क्षमताका हिसाबले पनि राम्रो भएकाले पढ्नका लागि यूरोप, अमेरिका जान नपर्ने लाग्छ ।

तपाइँ पहिलो पटक चीन भ्रमण गर्दाको परिदृष्य सम्झिन सक्नुहुन्छ?  

म पहिलोपल्ट सन् २००७ मा बेइजिङको एयरपोर्टमा ओर्लने बित्तिकै इन्फ्रास्ट्रकचर (पूर्वाधार) देखेर छक्क परेको थिएँ । बाहिर निस्केपछि ठूलो फराकिलो बाटो देखेर चीनले यति धेरै विकास गरिसकेको रहेछ भनेर दङ्ग परेँ । दुई दिन बेइजिङ बसेपछि वुहानको लागि रेल चढियो । करिब १२ घण्टाको यात्रापछि भोलिपल्ट बिहान वुहानको रेल्वे स्टेशन पुगियो । स्टेशन त्यत्तिकै भव्य थियो ।

ह्वाचोङ साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी त्यस्तै ठूलो लगभग ५०/६० हजार जति ब्याचलर अध्ययन गर्ने विद्यार्थीहरू थिए । युनिभर्सिटी भित्रै एउटा ठाउँबाट अर्को ठाउँमा जान स-साना गाडि चढ्नुपर्ने पहिलोपल्ट देखेको थिएँ । त्यस्तै बजार घुम्न जाँदा पनि यहाँको विकास देखेर दङ्ग परेको थिएँ । एक वर्षपछि नै बेइजिङ-वुहानसम्म द्रूतगतिको रेल चलाउने तयारी भइरहेको थियो । सुरूसुरूमा मान्छेहरूले कसले चढ्छ यो रेल ? समय छोटो भएपनि महङ्गो हुन्छ, अहिले पनि १२ घण्टा त लाग्छ नि भन्थे । कामको सिलसिलामा म फेरि पनि वुहानबाट बेइजिङ जान खोजिरहेको थिएँ, फास्ट ट्रेन लिएँ । रेलवे स्टेशन पुग्दा त मान्छेहरू उस्तै भरिभराउ देखिन्छन् । बाटोबाटोमा रेलका ट्रयाकहरू धमाधम बनाउदै गरेको देखिन्छ । त्यतिखेर त्यस्तै दुई तीन वटा मात्रै लेनहरू थिए होला ।

घुमघाम वा कन्फेरेन्समा भाग लिन जाँदा रेल नै चढिन्थ्यो । तर बाटोमा अचम्मका दृष्य देखेर हैरान होइन्थ्यो । गाउँ गाउँका बाटोमा फ्लाईओभर, रेलवेको ट्रयाक बनाइरहेको हुने, यतिका धेरै के गर्या होला जस्तो लाग्ने । हामी त नेपालमा खोलामा पनि पुल हाल्न नसकिरहेको बेला यहाँ त खोलोसोलो नहुँदा पनि घुमाउनुको साटो सिधै पुल हाल्देको छ। पहाड पहाड छेड्दिएको छ ।

सन् २०११ मा मेरो पढाइ सक्ने बेलासम्म लगभग सबैजसो ठूला सहर फास्ट ट्रेनले जोडिसकेको थियो । तर वुहान सिटीमा सबवे थिएन । सन् २०१४ मा युरोपपछि म फेरि वुहान आउनुपर्ने काम पर्यो । त्यतिखेरसम्म त ६ वटा सबवे लाइन खोलिसकेको रहेछ । वुहान सहर छोडेको ३ वर्षमै पुरै फरक भइसकेको रहेछ चित्र । यति रफ्तारमा विकास रहेको रहेछ कि ।

चीनले २०११ तिर भर्खर भर्खर स्मार्ट फोन बनाउन थालेको याद छ । ती स्मार्टफोन कस्ता हुन्थे भने हातले जति धकेल्दा पनि गतिलोसँग नचल्ने । त्यैपनि सस्ता हुन्थे, मान्छेले रहर पूरा गर्न किन्थे । अनि २०१४ मा चीन आउँदा यिनीहरूका स्मार्टफोन त सामसुङ, एप्पल फिचरसहितको लेभलमा पुगिसकेका थिए । त्यसपछि विस्तारै भाउ पनि घट्दै गयो । चीनले आफ्नै ब्राण्डेड निकाल्दै गयो । भिभो, ह्वावे, ओप्पो, स्याउमी जस्ता चिनियाँ मोबाइल कम्पनीहरू देखापरे ।  टेक्नोलोजीमा चीनको अलिकति मात्रै समय लाग्ने रहेछ । यति चाँडो विकास गर्ने कि धेरै नै, त्यो दुनियाँले नभ्याउने गति यिनीहरूले पछ्याइरहेका हुन्छन् । चाँडै नै काम गर्ने यिनीहरुको यो बानी हरेकजसो क्षेत्रमा देखापर्छ । मैले आफ्नै अफिसमा काम गर्ने यिनीहरूको कार्यशैली हेरेर पनि नोटिस गर्छु कि यिनीहरु मरेरै काम पूरा गर्छन् ।

चिनियाँहरुको काम गर्ने शैलीबारे पनि प्रश्न सोध्न मन छ । पहिला चाहिँ टेक्नोलोजी भन्ने शब्द उठाइहाल्नुभयो, यसबारेमा भन्नुस् न । चिनियाँ प्रविधि नेपालमा पनि गएको छ । के कस्तो फाइदा छ ?

यसबाट मुख्य फाइदा भनेकै विकासोन्मुख वा अति कम विकसित नेपालजस्ता देशहरूलाई भएको छ नि । जस्तै पाकिस्तान, बंगलादेश जस्ता देशहरु जहाँ चाहिँ मान्छेको आय कम छ, अफ्रिकन देशहरू, जहाँ चाहिँ मानिसको जीवनचर्या स्तरोन्नतिमा योगदान गरेको छ । फोन, ग्याजेटहरू जुन सस्तो भाउमा, उत्तिकै राम्रो फिचरमा आएका छन् । यसले एप्पलको बिकल्प दिएको छ । कुनै बेला समाचार सुनिन्थ्यो, आइफोन किन्नका लागि मान्छेले किड्नी बेचे । अहिले त्यस्तो समस्या छैन । जति अरू पनि इलेक्ट्रोनिक्स उपकरणहरू भए, टिभी, कम्प्युटर, एयरकन्डिसन, वासिङ मेशिनहरू सामान्यतया मानिसहरुले किन्नसक्ने अवस्था भए । त्यो अवस्था हुनुमा चिनियाँ प्रविधिकै देन हो । टेक्नोलोजीको मेन उद्देश्य भनेको पनि सेवा नै हो । सबैका लागि उत्तिकै सेवा दिनसक्ने क्षमता टेक्नोलोजीले राख्छ । त्यसमा चाहिँ चीनको टेक्नोलोजी नेपालका लागि मात्रै होइन, दुनियाँभरिका मध्यम वा तल्लो तहका मानिसहरुको जिन्दगी धेरै धेरै सजिलो बनाएको जस्तो लाग्छ ।

यो सबै विकास हुनुका पछाडि दक्ष जनशक्तिको भूमिका हुन्छ । प्रायः सबैतिर सरकारी काम, कहिले जाला घाम भन्ने जस्तै हुन्छ । उति मन दिएर काम गर्दैनन् । यस्तो प्रवृत्ति छाइरहेको बेला चिनियाँहरूको काममा दत्तचित्त भएर काम गर्न कुन शक्तिले प्रेरित गरेको हुनसक्छ?

हामीले संसारलाई देखाउनुपर्छ, हामी संसारको नम्बर वान हुनुपर्छ। हामीसँग ताकत छ, क्षमता छ । पहिला हामीले धेरै दुःख पायौँ । अबको नयाँ पिँढीले त्यस्तो दुःख भोग्न नपरोस् भन्ने चिनियाँहरूको मनमा गढेको एउटा भावना छ । तपाइँ हेर्नुस् न, आजभन्दा ३०/४० वर्षअगाडि चीनको अवस्था कस्तो थियो ? भन्ने नै हो भने नेपालको भन्दा कमजोर थियो । त्यतिखेरका मानिसहरूको जीवनशैली अझै खराब थियो । सबैले राम्रोसँग खान, लाउन नपाउने अवस्था थियो । स्कूल जान नपाउने अवस्था थियो । उनीहरुले विगतका विभिन्न कालखण्डमा यति धेरै दुःख भोगे कि, त्यही दुःखले उनीहरुलाई प्रगतिका लागि प्रोत्साहन गर्यो । दुःखको सामना गरेको मान्छेले नै प्रगति गर्छ । हामी नेपालीले खासै दुःख नपाएको स्थिति छ । मतलव खानै नपाउने अवस्था त भएन वा त्यस्तो अवस्थालाई पनि ईखको रुपमा लिने बानी परेन । तर चीनमा भोगमरीदेखि अनेक विपत्ति त ठूलो संख्यामा भयो । त्यसैले अब त अवसर आयो, यो अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने भावना मानिसहरुमा पलाएको देखिन्छ । हामी हेपिएर दबिएर बस्नु हुँदैन भन्ने चेतले नै चिनियाँहरूलाई संसारको शक्ति पहिलो बन्नुपर्छ भन्ने शक्ति दिएको होला ।

अर्को भनेको सरकारी नीति हो । माथिदेखि तलसम्म हरेकको कार्य विभाजन हुन्छ यहाँ । हरेकको एउटा एउटा ‘टार्गेट’ हुन्छ । त्यो लक्ष्यमा नपुगेमा सोही पदमा बसिरहनु उचित छैन । अतः टार्गेट तोक्ने एउटा शैलीले काममा घोटिन प्रेरित गर्छ । केन्द्र सरकारले प्रान्तीय सरकारलाई लक्ष्य दिन्छ होला, प्रान्तले आफ्नो युनिर्भसिटीलाई टार्गेट दिन्छ होला । यो प्रणाली चल्छ । अनि तोकेको समयभन्दा अगाडि नै काम गर्नेलाई रिवार्ड वा फन्ड दिइन्छ ।

नेपालमा भने सरकारी कर्मचारी भएपछि जिन्दगीभरिलाई ढुक्क हुन्छ । अझ स्थायी बन्न सकियो भने काम गरेपनि ठीक छ, झारा टारेपनि जागिर जाँदैन । अनि यत्तिकै बस्ने, आफ्नो सुविधा अनुसार गर्ने प्रवृत्ति छ । उसो त चीनमा पनि नहुने भन्ने होइन । तर चीनमा सरकारी तलब एकदमै कम छ । एउटा कर्मचारीले राम्रो कमाई चाहने हो भने काम गर्नुपर्छ । टार्गेट मिट गरेपछि  रिवार्ड / फण्ड आउँछ, त्यसबाट जीवनस्तर उकासिन्छ । त्यसैले जति राम्रो र मेहनत पूर्वक काम गर्यो, उति नै राम्रो बोनस आउँछ । जसले काम गर्छ, पुरस्कार पाउने, काम नगर्नेले त्यत्तिकै चित्त बुझाउने । कर्म गरेपछि फल पाइन्छ है भन्ने भएपछि मान्छेले मरिमेटेर काम गर्ने रहेछ ।

हाम्रोमा त्यस्तो सिस्टम छैन । सरकारी अफिसमा छिरेपछि काम गरे पनि भो, नगरेपनि भो । राम्रो काम गर्नेले पुरस्कारै पाएछ भने पनि चित्तबुझ्दो हुँदैन । पूर्वाग्रह, आफ्नो, पराय, नाता के के चल्छ जसबाट काम गर्नेको जाँगर पनि नचलेको हुनसक्छ । तर यहाँ चाहिँ त्यस्तो हुँदैन । लक्ष्य चाहिँ पूरा गर्नुपर्यो । काम अनुसार माम पाइन्छ ।

यो पनि हेर्नुहोस्

तपाईको प्रतिक्रिया