रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

  १४ घण्टा अगाडि

चितवन, १० असार : गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट एक हजार युनिट (पोका) रगत चितवन ल्याइएको थियो । अघिल्ला वर्षहरुमा यो समयमा जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । यस वर्ष भने विश्व रक्तदाता दिवसका अवसरमा गत जेठ ३१ गते यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा ठूलो मात्रामा रगत सङ्कलन भएपछि अभाव टरेको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ब्लड डोनर्स सोसाइटीले आयोजना गरेको रक्तदान महोत्वमा एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । पौडेलका अनुसार जिल्लामा अहिले दैनिक १०० युनिट हाराहारी रगतको माग रहेको छ । फाटफुट हुने रक्तदान कार्यक्रमहरुबाट पनि रगत सङ्कलन भइरहेको छ ।

पौडेलले भन्नुभयो, “१५–२० दिनका लागि जिल्लामा रगतको अभाव हुँदैन ।” उच्च गर्मी मौसम, खेतीबालीको समयलगायतका कारण रगतको अभाव हुने गर्दछ । यो समयमा रक्तदान गर्न रक्तदाता हिच्किचाउने गर्दछन् । यही समयमा बिरामीको सङ्ख्या बढी हुने गर्दछ । त्यसका कारण बिरामीका आफन्तले रक्तदाता खोजेर रगतको गर्जाे टार्नुपर्ने बाध्यता रहेको थियो ।

चरम अभावको समयमा भएको रक्तदानले निकै सहज भएको पौडेलले बताउनुभयो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार नेपालमा पहिलोपटक एकै ठाउँमा एकै दिन यति ठूलो सङ्ख्यामा रक्तदान भएको हो । नयाँ रक्तदाता समेतलाई आकर्षित गर्न महोत्सव गरिएको अधिकारीले बताउनुभयो ।

चितवनमा दुई मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताललगायत निजी २५ भन्दा बढी साना अस्पतालमा रगतको माग हुने गर्दछ । क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, सुत्केरी, मिर्गाैलाको डाइलासिस, थालेसेमियालगायतका बिरामीलाई बढी मात्रामा रगत चाहिने गर्दछ ।

तपाईको प्रतिक्रिया