एक घर, एक लालीगुराँस बिरुवा अभियानमा विद्यार्थी नेता बस्याल

  १५ घण्टा अगाडि

तानसेन (पाल्पा), ८ असारः बगनासकाली गाउँपालिका–८ बराङ्दीका सुशील बस्याल राष्ट्रिय झण्डा र लालीगुराँसको संरक्षण अभियानमा निरन्तर लाग्दै आउनुभएको छ ।
तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा पुरानो अवस्थामा रहेको राष्ट्रिय झण्डालाई उहाँले फेर्नुभएको छ । उहाँले आफ्नै खर्चमा झण्डा फेर्नुभएको हो ।
तानसेनमा रहेका राष्ट्रिय झण्डा फेर्नुपर्ने अवस्थामा रहँदा समेत यहाँको स्थानीय सरकार, राजनीतिक दल, कर्मचारीको ध्यान जान नसकेको छैन । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा च्यातिएको झण्डा सुन्दरडाँडामा फहराइरहेको देखेँ, मेरो मनले झण्डाको अपमान भएको देख्न सकेन र एउटा झण्डा लगेर त्यहाँ राखेको हुँ ।” उहाँले राष्ट्रिय झण्डा राष्ट्रको अस्मिता हो, त्यसको अपमान गर्न नहुने बताउनुभभयो ।

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सचिवसमेत रहनुभएका उहाँले समाजलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानमासमेत जुट्नुभएको छ । अहिले उहाँले गाउँलाई हरियालीमात्र होइन राष्ट्रप्रतिको माया सबैलाई जगाउन लालीगुराँस रोप्ने अभियान नै चलाउँदै आउनुभएको छ । उहाँले एक घर एक लालीगुराँस अभियानअन्तर्गत सबै घरघरमा पुगेर लालीगुराँसका बिरुवा लगाउनुभएको छ ।

उहाँले अभियानमा अहिले सयौँ घरमा पुर्याइसक्नुभएको छ । उहाँले आफ्नै लगानीमा स्थानीय नर्सरीबाट बिरुवा ल्याई लगाउने गर्नुभएको छ । केही बिरुवाका लागि भने स्थानीय व्यक्तिको पनि सहयोग रहेको छ । नेता बस्यालले बेलौती खर्क टोलका सबै घरमा गुराँसका बिरुवा लगाइसक्नुभएको छ । उहाँले गाउँभित्रका विद्यालय, वडा कार्यालय र विभिन्न धार्मिकस्थलसमेत लालीगुुराँसका बिरुवा रोप्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “सबैलाई देश र समाजप्रति समर्पित हुनको लागि राष्ट्रिय फूलको महत्व बुझाउन र गाउँलाई लालीगुराँसका रूपमा विकास गरी पर्यटनको विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको छ ।” उहाँले गाउँलाई सुन्दर र स्वच्छ बनाउने दायित्व स्थानीय सरकारको भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । बस्यालले भन्नुभयो, “व्यक्ति एक्लैले गाउँ, समाजलाई सुन्दर र सभ्य बनाउन सम्भव छैन, यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्छ ।

तपाईको प्रतिक्रिया