राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

  १४ घण्टा अगाडि

काठमाडौँ, ५ असारः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गर्नुभएको छ ।

बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल रु ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइएको सुविधा खारेज गर्ने निर्णयले किसान मर्कामा पर्ने उहाँहरूले बताउनुभयो । सांसद डा बेदुराम भुसालले उक्त अनुदान नरोक्न सरकारको ध्यानार्कषण गराउनुभयो । “यो अनुदान रोक्नु भनेको किसानलाई असहयोग गर्नु हो, तसर्थ यो निर्णय तुरुन्त फिर्ता गरियोस्”, उहाँले भन्नुभयो ।

सांसद गोपीबहादुर सार्की अछामीले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्दा रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका किसान निरुत्साहित हुने बताउनुभयो । सांसद मृगेन्द्रकुमार सिंह यादवले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गर्नुभयो ।

सांसद यादवले इजरायल र इरानबीच भएको युद्धका कारण यी दुवै देशमा रहेका नेपालीको सुरक्षा प्रत्याभूति र तत्काल स्वदेश फिर्ताका लागि कुटनीतिक पहल गर्न ध्यानार्कषण गराउनुभयो । सांसद इन्दिरादेवी गौतमले मानसिक स्वास्थ्य उपचारबारे सचेतना फैलाउन विद्यालयस्तरबाट बृहत् छलफल, परामर्श तथा उपचारको अनिवार्य व्यवस्था गर्न सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद गङ्गाकुमारी बेल्वासेले ‘ब्लड डोनर्स सोसाइटी’ले चिवतनमा उल्लेख्य मात्रामा रगत सङ्कलन गरेकाबारे चर्चा गर्दै सबैलाई रक्तदान गर्न आह्वान गर्नुभयो । “अहिले रक्तादान गर्नेको सङ्ख्या शून्य दशमलव पाँच प्रतिशत छ । यसलाई दुई प्रतिशतमा पु¥याउन सबैले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद गोपाल भट्टराईले नारायणगढ–बुटवल खण्डको करिब ५० किलोमिटरसम्म अहिले ट्राफिक जाम हुने गरेको भन्दै विनयी खोलामा तत्काल पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो । सांसद जगप्रसाद शर्माले कृषि विकास बैंक र अन्य वित्तीय संस्थामा अवकाश कोष यथावत् राख्नुपर्ने माग गर्नुभयो । सांसद तारामान स्वाँर र सांसद शारदादेवी भट्टले कोरोना सङ्क्रमण बढिरहेकाले सोको नियन्त्रणका लागि ध्यानार्कषण गराउनुभयो । उहाँहरूले भारतबाट फर्किनेसँगै कोरोना सङ्क्रमण देखिएको भन्दै सीमानाकामा परीक्षण र उच्च सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

“असार २१ गतेदेखि हिजोसम्म सुदुरपश्चिमको सीमाना हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ”, सांसद स्वाँरले भन्नुभयो, “दैनिक जस्तो कोरोना पुष्टि भए पनि आवश्यक किट अभावले पर्याप्त सङ्ख्यामा परीक्षण हुन सकेको छैन ।” सांसद मायाप्रसाद शर्माले दोलखालाई पर्यटकीय जिल्ला घोषणा गर्दै उत्पादनको क्षेत्र बनाउन माग गर्नुभयो । सांसद सुमित्रा बिसीले पूर्वपश्चिम राजमार्गअन्र्तगत पूर्वीनवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाँउदा सडकमा सवारी आवागमन प्रभावित भएकातर्फ सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराउनुभयो ।

तपाईको प्रतिक्रिया