पर्यावरण संरक्षणमा उत्कृष्ट कोपिला भ्याली विद्यालय

  १४ घण्टा अगाडि

कर्णाली, ५ असार : सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ ।

सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ । टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ । ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो ।

कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै १०औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो नेपालीका लागि गर्वको कुरा हो । अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ ।”

अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधावी युएइमा हुने ‘विश्व स्कुल्स समिट’मा सहभागी हुन पाउने छ ।

सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ । मतदान सुरु भइसकेको छ । यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

अबुधावीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ । वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौति पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दशवटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टि फोरले जनाएको छ ।

तपाईको प्रतिक्रिया