लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

  जेठ ३१, २०८२

गोरखा ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर्ने बताउनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई आज सदरमुकाममा सम्बोधन गर्नुहुँदै उहाँले लोकतन्त्रको रक्षा गर्न सामाजिक, आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

“सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बेला आएको छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “लामो समयदेखि राज्य र समाजमा भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले गुणात्मक फड्को मार्न सकिरहेको छैन ।” उहाँले अहिलेको विकासको गतिले जनताको आवश्यकता पूरा गर्न नसक्ने बताउनुभयो ।

“आर्थिक रुपान्तरण र विकासको काम मात्रामात्रामा गरेर हुँदैन, उहाँले भन्नुभयो, यति ठूलो युगान्तकारी परिवर्तन राजनीतिक क्षेत्रमा त भयो तर विकासका क्षेत्रमा भने जुनसुकै सरकार जुनसुकै राजनीतिक दल आए पनि अलिअलि हुने विकासले अब हुँदैन विकासमा गुणात्मक फड्को मार्नुपर्छ ।”

लोकतन्त्रवादी शक्तिले यथास्थितीवाद र प्रतिगमनलाई सँगसँगै परास्त गरेर अघि बढ्नुपर्ने बेला आएको भन्दै उहाँले अनि मात्र सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोल्न सकिने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले जनताको आशा र अपेक्षाको रूपमा हेर्दै आएको माओवादी केन्द्रले पनि आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भनेमात्र नेपालीको राष्ट्रियता बलियो हुने उहाँको भनाइ छ । “हामीले आफ्नो पहिचानलाई गर्ववोधका साथ लिन र हाम्रो भाषा, संस्कृति एवं परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “मनमा कसैले पनि हिनतावोध लिएर बस्नु हुँदैन ।”

नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रियहितको रक्षा गर्दै सबैले नेपाली हुनुमा गर्व गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै दाबीसमेत गर्नुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया