आर्थिक सर्वेक्षण प्रस्तुत

  जेठ ३१, २०८२

विराटनगर, ३० जेठ : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताउनुभयो ।

उहाँले गत चैत मसान्तसम्म रु ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको जानकरी दिनुभयो । यसैगरी, सङ्घ अनुदानको जम्मा रु नौ अर्ब एक करोड वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर रहेको बताउनुभयो ।

उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४ दशमलव चार प्रतिशत र औद्यागिक क्षेत्रको १६ दशमलव शून्य तीन प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।

शून्य समय
शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, रमेशकुमार बस्नेत, राधाकृष्ण खनाल र शोभा चेम्जोङले असारे विकास प्रवृत्तिले भ्रष्टाचार मौलाउने र गुणस्तर कम हुने, जेठ १७ गते परेको अविरल वर्षाले सुनसरीको धरान आसपासका क्षेत्रमा नदी कटान र खानेपानीको मुहान बगाएको, किसानले चैते धानको उचित मूल्य नपाएको तथा बालबालिकाहरु पछिल्लो समयमा खोला र पोखरीमा डुबेर अकालमा ज्यान गुमाउनु परेका आवश्यक योजना बनाउनुपर्ने जस्ता विषयमा धारणा राख्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने छ । उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया