अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यक : चिनियाँ राष्ट्रपति

  जेठ २३, २०८२

बेइजिङ, २२ जेठ : चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्छ’ बताउनुभएको छ ।

वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा वार्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई भन्नुभयो, “चीन–अमेरिका सम्बन्धको ‘विशाल जहाज’को दिशा सुधारगर्न दुवै पक्षले सही दिशा तय गर्न आवश्यक छ र सबै प्रकारका अवरोधहरू हटाउन आवश्यक छ।”

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका अधिकारीहरूले जेनेभामा भएको व्यापार वार्तालाई खतरामा पारेको आरोपप्रत्यारोप लगाएका समय भएको यो फोनवार्तामा उक्त आह्वान गरिएको हो ।

“अमेरिकी पक्षले भएको प्रगतिको यथार्थपरक दृष्टिकोण राख्नुपर्छ र चीनविरुद्धको नकारात्मक पहल फिर्ता लिनुपर्छ,’ राष्ट्रपति सीले ट्रम्पसँग भन्नुभयो ।

जेनेभावार्ताले ‘वार्ता र सहकार्य नै सही विकल्प हो’ भन्ने देखाएको बताउँदै उहाँले चीनले स्विट्जरल्याण्डमा भएका सम्झौताको पालना गरेको बताउनुभयो ।

तर चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई चेतावनी दिँदै स्वशासित ताइवानको विषयमा वासिङ्टनले सावधानीपूर्वक कदम चाल्नुपर्ने बताउनुभएको छ ।

सीसीटीभीका अनुसार सीले चीन र अमेरिकालाई द्वन्द्व र मुठभेडको खतरनाक स्थितिमा धकेल्ने ‘ताइवान स्वतन्त्रता’ पृथकतावादीहरूको सानो संख्याबाट बच्न अमेरिकाले ताइवान मुद्दालाई सावधानीपूर्वक सम्हाल्नुपर्नेमा जोड दिनुभएको थियो ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बेइजिङको सेनाले ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास गरिरहेको’ र ताइवानमाथि सम्भावित आक्रमणको तयारी गरिरहेको बताएपछि चिनियाँ नेताको यो टिप्पणी आएको हो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया