क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

  ९ घण्टा अगाडि

ओटावा, २७ वैशाख : क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ ।

यसअघि मार्चमा पनि ०.१ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ ।

यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर हो ।

निकायका अनुसार, अप्रिल महिनामा रोजगारी खोजिरहेका व्यक्तिहरूले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नु परेको देखिएको छ ।

मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो ।

अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन भने रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ ।

१५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीहरूमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आगामी छ महिनाभित्र कर्मचारी सङ्ख्या घट्ने अपेक्षा व्यक्त गरेका छन् ।

यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीहरूमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया