अण्डाको माग बढ्यो

  २१ घण्टा अगाडि

चितवन, २१ वैशाख : गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अझै अण्डाको उत्पादन घट्दै जाने छ ।” गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उहाँको भनाइ छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताउनुभयो । चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उहाँ बताउनुहुन्छ । उहाँको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उहाँ बताउनुहुन्छ । माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ ।

अध्यक्ष पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रु चार सय ६०, ठूलोको रु चार सय ३५ र मिडियमको रु तीन सय ८५ कायम गरिएको छ । बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो । गत वर्ष प्रतिक्रेट (३० गोटा) को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । उहाँले भन्नुभयो, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।”

तपाईको प्रतिक्रिया