‘नेपाल’ बन्धुहरूलाई सम्मान

  असोज २२, २०८१

काठमाडौँ, २२ असोज : झिल्टुङ नेपाल समाजले ‘नेपाल’ बन्धु स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

नुवाकोटको बेलकोटगढीमा समाजको साधारणसभाका अवसरमा समाजसेवी मोहन नेपाल तथा बेलकोटगढी – ७ का वडाध्यक्ष भुवनेश्वर नेपाल, विदुर – ७ का वडाध्यक्ष रवीन्द्र नेपाल र विदुर – १० का वडाध्यक्ष गणेश नेपाल एवं बेलकोटगढी–५ का वडा सदस्य गोकर्ण  नेपाल र  विदुर–१२ का वडा  सदस्य निर्मला रिमाल नेपाललाई सोमबार सम्मान गरिएको हो ।

त्यस अवसरमा वरिष्ठ पत्रकार  किशोर नेपालले स्थानीय तहलाई बलियो नबनाएसम्म सङ्घीय गणतन्त्र सुदृढ नहुने  जनाउँदै केन्द्रले पालिकाहरूलाई आफ्नो कब्जामा लिने रणनीति संविधानमै राखेको भनी असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “संसारमा कहीँ पनि केन्द्रका आदेशमा स्थानीय तहले काम गर्दैन र केन्द्रले पालिकालाई नियन्त्रण गर्न पनि सक्दैन । स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरूले एक भएर आवाज उठाउन सक्नुपर्छ । ” बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पालिकाका हरेक वडामा विकासका काम गर्न बजेटमा पूर्ण अधिकार नहुँदा समस्या भएको औँल्याउनुभयो । 

नुवाकोटको झिल्टुङमा जन्मेर सोही स्थानमा हुर्किएका तर कालान्तरमा छरिएर रहेका नेपाल बन्धुहरूलाई एकीकृत गरी समुदायका सबै वर्ग र क्षेत्रको विकासमा एकजुट हुने उद्देश्यले पाँच वर्षअघि समाज गठन गरिएको समाजका अध्यक्ष नारायणप्रसाद नेपालले बताउनुभयो । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित  ‘कुञ्जिनी’ खण्डकाव्य र ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा सङ्गृहीत ‘पहाडी जीवन’ निबन्धको  भावभूमि झिल्टुङ नै थियो जहाँ उहाँले आफ्नो मामाससुरालमा केही समय बिताउनुभएको थियो । हाल सोही स्थानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा र स्थानीय उपभोक्ता समितिका पहलमा ‘कुञ्जिनी उद्यान’ निर्माणाधीन छ । 

तपाईको प्रतिक्रिया