नदी कटानले बस्ती जोखिममा

  भदौ १२, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), १२ भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको निरन्तरको कटानले बस्तीनै नदीमा समाहित हुने जोखिममा छ ।

भारतसँग सीमा जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको छ । स्थानीयका अनुसार असार यताको बाढीले दुई बिघा जग्गा नदीमा समाहित भइसकेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ ।

बस्तीलाई नहेरे पनि सरकारले आफ्नो भूमि जोगाउन पनि कटान रोक्ने उपाय खोज्नुपर्ने यहाँका स्थानीय खड्के बुढा बताउँछन् । “नदी कटानले गाउँ नै जोखिममा परेको छ अहिलेसम्म राज्यबाट नदी नियन्त्रणका लागि कुनै पहल हुनसकेको छैन”, उहाँले भन्नुभयो–“यहाँ अवलोकनका लागि सांसद मन्त्री धेरै पटक आउनुभयो तर नदी नियन्त्रणका लागि कुनै प्रयास भएन ।” उहाँले सिमाना जोगाउन पनि सरकारले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने बताउनुभयो ।

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसँग जोडिएको कुतियाकवरमा बर्सेनी जोगबुढा र महाकाली नदीले जमिन कटान हँुदै आएको छ । “अहिले पनि महाकाली नदीले निरन्तर कटान गरिरहेको छ कुन दिन बस्तीनै नदीमा समाहित हुन्छ भन्ने चिन्ता छ”, स्थानीय टेकबहादुर सुनारले भन्नुभयो– “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दैआएको छ ।”

विसं २०२० मा बसेको बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । “पहिला यहाँ डेढ सय बढी परिवारको बसोबार रहेको थियो”, सुनारले भन्नुभयो–“कटानले बस्ती नै जोखिममा परेपछि धेरै यहाँबाट बसाइँ सरेर गइसक्नुभयो । अहिले ५५ परिवार मात्रै यहाँ बस्दै आएको छ ।” जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको उहाँको भनाइ छ ।

दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले गत वर्ष जोगबुढा नदीमा दुईसय २० मिटर तटबन्ध निर्माण भएको बताउनुभयो । “यस वर्ष पनि तटबन्ध निमार्णका लागि पहल गरिराखेका छौ”, उहाँले भन्नुभयो–“कुतियाकवर बस्ती जोगाउनका लागि लागेका छौँ ।” सानो सङ्ख्यामा रहेपनि दशकदेखिबिना बर्दीको सीपाहीको रुपमा सिमानामा माटो रक्षा गरिरहेपनि राज्यले आफुहरुका लागि कुनै सुविधा उपलब्ध नगराएको स्थानीयको गुनासो छ । जोगबुढा र महाकाली नदीको कटानले कुतिकवर मात्रै होइन बस्तीनै नदीमा समाहित भएर दक्षिणतर्फ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको स्थानीय बताउँछन् ।

करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिँदै गएको छ । हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ । नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । स्थानीयका अनुसार नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली नदी बगिरहेको छ ।

तपाईको प्रतिक्रिया