काठमाडौँ, ११ मङ्सिर : काठमाडौँ जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
मलेसिया जाने नेपाली श्रमिकको बायोमेडिकल परीक्षणका नाममा अतिरिक्त शुल्क असुली भएको प्रकरणमा पक्राउ पर्नुभएका अर्याललाई शुक्रबार जिल्ला अदालतमा पेस गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत पेस गरिएका उहाँलाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता अनुपम शम्शेर जबराले जानकारी दिनुभयो ।
यसअघि सिआईबीले अर्यालको बूढानीलकण्ठस्थित निवासमा छापा मारेर ल्यापटपलगायत विद्युतीय उपकरण तथा कागजात नियन्त्रणमा लिएको थियो । ती सामग्रीबाट प्राप्त विवरणसमेत अनुसन्धान र विश्लेषण गरिने प्रहरीले जनाएको छ ।
विराटनगरमा बिहीबार पक्राउ पर्नुभएका अर्याललाई प्रहरीले सोही दिन काठमाडौँ ल्याएको थियो । आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी शुक्रबार अदालतमा पेस गरिएको हो ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली भएको विषयमा सिआईबीले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा प्रहरीले यसअघि नै दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
श्रमिकलाई वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिने स्वास्थ्य परीक्षणका नाममा भएको आर्थिक कारोबार, संलग्न व्यक्ति तथा निर्णय प्रक्रियाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । अदालतबाट प्राप्त चार दिनको म्यादमा अर्यालको संलग्नतासहित प्रकरणका विभिन्न पक्षमा थप प्रमाण सङ्कलन तथा विश्लेषण गरिने सिआईबीले जनाएको छ ।






