बिर्तामोड, असार ८ : कोरोना संक्रमित महिलाले क्वारेन्टाइनमा आएका आफ्न्त बच्चालाई काखमा लिएर चुम्मासमेत खाएको पाइएपछि झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल गरिएको छ ।
गत जेठ ३२ गतेदेखि कनकाई नगरपालिका ७ स्थित दलित भवनको क्वारेन्टाइनमा बस्दै आएकी एक ३१ वर्षीय युवतीको पिसिआर रिर्पोट पोजेटिभ देखिएको थियो । ती युवती केही दिन अघिमात्रै कुवेतबाट आउनुभएको कनकाई नगरपालिकाका स्वास्थ प्रमुख ब्रजेश मेहत्ताले बताउनुभयो ।
युवतीसहित अन्य सातजना सोही क्वारेन्टाइनमा रहँदै आएका थिए । क्वारेन्टाइनका प्रहरी विरामी भएर औषधि लिन अन्यत्र गएको बेला घरबाट आफन्तहरु क्वारेन्टाइनमा छिरेका थिए भने उनका आफन्तका एक बच्चालाई क्वारेन्टाइनमा रहेकी युवतीले काखमा लिएर चुम्मा समेत खाएकी थिइन् भने बच्चालाई केही पैसा समेत दिइकी थिइन ।
ती बच्चा र आफन्तहरु सुरुङ्गा बजार र दुर्गापुर बजारमा गई किनमेल गर्नुको साथै बैंकमा समेत गएको पाइएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
कुबेतबाट आएकी युवतीमा आइतबार कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका सबैको निगरानी राख्न तत्काल कनकाई नगरपालिकाको १ देखि ७ नम्बर वार्डसम्म सोमबारदेखि शनिबार राति १२ बजेसम्म सिल गरिएको र उनको घरवरिपरिका १५ घरलाई रातो झण्डा लगाएर पुरै हिँड्डुलमा प्रतिबन्ध लगाएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
सङ्क्रमित युवतीको घर र क्वारेन्टाइन नजिक रहेकाले समेत क्वारेन्टिनमा रहेकाहरुको सम्पर्कमा आफन्त पुगेको कनकाई नगरपालिकाका क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले बताउनुभयो ।
कनकाई नगरपालिकामा यसअघि स्थानीय कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा समेत रहेका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु हाल पनि विराटनगरमा उपचारमा रहेका छन् ।






