चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

  १ घण्टा अगाडि

चितवन, २६ भदौ : चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् ।

चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक दुई सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिनुभयो । उक्त प्लान्टले २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ सिलिन्डर भरिरहेका छन् ।

धनुषाको नोबेल, बाराको वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको चन्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिन्डर उपत्यका पठाइरहेका छन् ।

उक्त उद्योगले दैनिक १० हजार हाराहारी सिलिन्डर भरेका छन् । तीमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौँ पठाइरहेको बताइन्छ ।

कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताउनुभयो ।

दैनिक उपत्यकामा ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ । बुधबार ५३ हजार ४६९ सिलिन्डर पठाइएको थियो । यो सङ्ख्या दैनिक तलमाथि हुने गरेको छ ।

चितवनमा भरिएका सिलिन्डर हेटाँैडा हुँदै काठमाडौँ पठाइएको छ । साँघुरो सडक र सवारीको उच्च चापसँगै बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानी असहज हुँदा समस्या भइरहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया