काठमाडौँ, २१ जेठ : प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेट देश र जनतालाई केन्द्रमा राखेर आएको बताएका छन् । बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद सूर्यप्रसाद ढकालले पैसाको अभावभन्दा पनि सोच, विधि, इमान्दारिता र इच्छाशक्तिको कमी भएको बताउनुभयो ।
सांसद छिरिङ लामा तामाङले विगतको तुलनामा यस पटकको बजेट उत्कृष्ट रहेको बताउनुभयो । उहाँले मधेसलाई कृषिको हब, कर्णालीलाई जडीबुटी तथा सुदूरपश्चिमलाई सांस्कृतिक हब बनाइने बजेटमा उल्लेख गरेको बताउनुभयो । सांसद डा. चन्द्रकान्त भण्डारीले उत्पादन र रोजगारीका कुरालाई सोचेअनुरूप बजेटमा आउन नसकेको बताउनुभयो । उहाँले निर्माणाधीन विकासका पूर्वाधार सम्पन्न हुन समय लाग्ने बताउनुभयो । सांसद नागिना यादवले अर्थतन्त्र सुधार्न बजेटले बढावा नदिएको तथा करको दायरा र सुविधा तथा स्थिरताको सन्देश दिन नखोजेको पाइएको बताउनुभयो ।
सांसद लालप्रसाद सावाँ लिम्बूले राजस्व सङ्कलनको लक्ष्य प्राप्तिका लागि करदाता शिक्षा बढाउनुपर्ने, राजस्व चुहावटको नियन्त्रण गर्नुपर्ने, राजस्व प्रशासनको क्षमता अभिवृद्धि गर्नुपर्ने, राजस्व प्रणालीमा सुधार गर्नुपर्ने तथा करको दायरा बढाउनुपर्ने सुझाव दिनुभयो । सांसद सपना राजभण्डारीले लिखितरुपमा जति नै राम्रो बजेट आए पनि यसले सर्वसाधारणलाई छुन नसकेको र बजेट बनाउँदा घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद नैनकला थापाले विकास खर्च र चालु खर्चमा खाडल देखिएको र सीमित साधनस्रोत मात्र प्रयोग गरेर धेरै खर्च नगरीकन हुने क्षेत्र मूल्याङ्कन गरेर त्यसलाई बढी प्राथमिकतामा राखेर ल्याउनसके राम्रो हुने बताउनुभयो । सांसद मैना कार्कीले बजेटमा युवा विदेश जानबाट रोक्ने, राष्ट्रिय गौरवका आयोजना र निजी क्षेत्रलाई समेट्ने कार्यक्रम नभएको बताउनुभयो । सांसद किरणकुमार साहले बजेटले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै पूर्वाधार परियोजनामा लगानी गरेर रोजगारी सिर्जना गरेर अर्थतन्त्रलाई बढावा दिनसकिने बताउनुभयो ।
सांसद देवप्रसाद तिमिल्सिनाले बजेट नेताका पक्षमा मात्र आएको तर किसान, मजदुर र कर्मचारीको पक्षमा नआएको धारणा राख्नुभयो । सांसद नारायणप्रसाद आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन तीन वर्षको नमुना तयार पार्नुपर्ने आगामी १० वर्षको नमुना तयार पारेर आवश्यक क्षेत्र पहिचान गरी लगानी गर्नुपर्ने सुझाव दिनुभयो । सांसद मनबहादुर गुरुङले पूर्वाधार र उत्पादन बढाउन पुँजीगत खर्च बढाउनुपर्ने धारणा राख्नुभयो । सांसद बिजुला रायमाझीले बजेट ल्याउने नियमित प्रक्रिया भएको र अब प्रश्न कार्यान्वयनको रहेको बताउनुभयो ।
सांसद हरि ढकालले बजेटमा कुनै नयाँपन नदेखिएको उल्लेख गर्दै सांसदहरूले उठाएका विषय बजेटमा समावेश नगरिएको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल मङ्गलबार पनि जारी रहने छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ । (रासस)






