पिथौरागढ, ७ पुस : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नेपाल–भारतको लोकसाहित्य र इतिहास साझा रहेको बताउनुभएको छ ।
भारतको पीथौरागढमा आज आयोजित भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा उहाँले दुवै देशको लोकसाहित्य र इतिहास साझा रहेको बताउनुभयो । “हाम्रा गाथा, सगुन, मेला तथा देवता समान छन्”, रावलले भन्नुभयो, “दुवै देशका लेखकले साझा मञ्च बनाइ इतिहास र साहित्यको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता छ ।”, उहाँले नेपाल र भारत वर्तमान राजनीतिक सीमाका आधारमा दुई देश स्वतन्त्र भएको यद्यपी दुवै देशको इतिहास एकअर्का विना अधुरो रहेको बताउनुभयो ।
शनिबारदेखि सुरु भएको काव्योत्सबमा नेपाली साहित्यकारका तीन कृति विमोचन गरिएको छ । उहाँले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह एकलव्यको देशमा, कवि गणेश नेपालीको गजल सङ्ग्रह एकलव्य र गीतकार कृष्ण सिंह पेलाको मुक्तक सङ्ग्रह फूलको प्रहार विमोचन गर्नुभयो ।
सोही कार्यक्रममा महेन्द्रनगरबाट प्रकाशित हुने स्थानीय भाषाको साहित्यिक पत्रिका गुगुल्गडीको लोकार्पण गरिएको थियो । नेपाल भारतका साहित्यकारले कविता, गजललगायत विभिन्न रचना प्रस्तुत गरिएको थियो ।