काठमाडौँ, जेठ २४ : लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपीबहादुर सार्की अछामीले बन्दाबन्दीको स्वरूपलाई परिवर्तन गर्न सुझाव दिनुभयो । उहाँले सीमा र खास/खास क्षेत्रमा कडाइ गरेर अन्य क्षेत्रलाई सहज बनाउन समेत आग्रह गर्नुभयो । व्यावसायिक क्षेत्र असाध्यै अप्ठ्यारोमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले साना, ठूला र मझौला उद्योगहरू क्रमशः सञ्चालनको वातावरण बनाओस् ।” उहाँले साना र मझौला उद्योगहरूले बैङ्कको ब्याज तिर्नुपर्ने र मजदुरहरू तलब नपाएर अवस्था दयनीय बनेको समेत उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका सांसद जितेन्द्रनारायण देवले कोरोना सङ्क्रमण अझै उच्च बिन्दुमा पुग्ने थप व्यक्तिहरूको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो । उहाँले ठीक भएर फर्कनेको सङ्ख्या उल्लेखनीय भएको हुँदा हामी कोरोनासँग जुध्न सक्छौँ र निको हुन सक्छौँ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुभयो । सांसद भगवती न्यौपानेले मानव जीवनको रक्षाका लागि गरिएको बन्दाबन्दीका कारण काम गर्न नपाएर जनजीवन झन् कष्टकर हुन लागेको हुँदा यसलाई केही परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद हरिराम चौधरीले सुुदूूर पश्चिम प्रदेशमा भारतबाट आएका ५८ हजार जना क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै स्वाब र रगत लिए पनि उनीहरूको परीक्षण रिपोर्ट आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले एउटा मात्र पीसीआर मेसिन भएकाले पर्याप्त परीक्षण हुन नसकेको भन्दै व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो ।






