बेइजिङ, २५ भदौ : चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ ।
सीसीटीभीका अनुसार जहाजमा चालकदलका सदस्यासहित ४२ कर्मचारी थिए ।
आगलागीपछि १७ जनालाई सकुशल उद्धार गरिएको छ । पाँच जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने थप पाँच जना अझै बेपत्ता छन् ।
बीस जना घटनास्थलमा मृत भेटिएको सीसीटीभीले जनाएको छ ।
प्रसारकले दिउँसो करिब २ः३० बजे खुला नियन्त्रणमा आएको बताएको छ । करिब बिहान ११ः१५ बजे लागेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।
“सन्डोङ प्रान्तको छिङदाओमा रहेको बेइहाई सिपबिल्डिङ कम्पनी लिमिटेडको विदेशी कार्गो जहाज मर्मतका लागि बन्दरगाहमा आएका बेला आगो लाग्दा ठूलो जनधनको क्षति भएको छ,” सिन्ह्वाले आगलागीेबारे बताएको छ ।
राष्ट्रपति सी जिनपिङले तत्काल खोज र उद्धार अभियान सञ्चालन गर्न आह्वान गर्दै ‘घटनामा जिम्मेवारहरूलाई कडा रूपमा जवाफदेही बनाउनुपर्ने’ कुरामा जोड दिएको सिन्ह्वाले उल्लेख गरेको छ ।
छिमेकी आवासीय परिसरका प्रत्यक्षदर्शीहरूले जहाजबाट बाक्लो धुवाँ आएको तर विस्फोटको आवाज नसुनेको बताएका छन् ।
“मैले संयोगवश जहाजमा आगलागी भएको देखिनुभन्दा पहिले धुवाँ आएको देखेँ, तर कुनै विस्फोटको आवाज भने सुनिएको थिएन,” एक प्रत्यक्षदर्शीले बताउनुभयो ।
सिन्ह्वाले घटनास्थलको एउटा तस्बिर सार्वजनिक गरेको छ जसमा ओशन मेलोडी नामक ठूलो जहाज ‘डक’मा रहेको र अगाडि धेरै दमकल गाडीहरू आगलागी नियन्त्रण गर्न भेला भएको देखिन्छ ।
ओशन मेलोडी १९० मिटर (६२३ फिट) लामो तथा धेरै सामान बोक्ने लाइबेरियाली जहाज हो ।
छिङदाओ प्रमुख अन्तर्राष्ट्रिय समुद्री केन्द्र हो। यसले १८० भन्दा बढी देश र क्षेत्रका ७०० भन्दा बढी बन्दरगाहहरूसँग जोडिएको छ ।
राष्ट्रपति सीले घटनाबारे दुःख व्यक्त गर्दै भन्नुभएको छ, “सबै क्षेत्र र सम्बन्धित विभागहरूले यस घटनाबाट गहन पाठ सिक्नुपर्छ र सबै प्रकारका आगोका जोखिमहरूको पूर्ण रूपमा छानबिन गरी सुधार गर्नुपर्छ।” घटनाको निष्पक्ष छानविन गर्न र दोषी उपर कडा कारबाही गर्न उहाँले निर्देशन दिनुभयो । (रासस/एएफपी)






