काठमाडौँ, २० असोज : सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गर्नुभएको छ । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उहाँले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने बताउनुभयो ।
पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने र चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्नेमा बताउँदै उहाँले भन्नुभयो, “पत्रकारले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ ।”
सङ्घीय संसद्को तल्लो जनप्रतिनिधिमूलक अङ्ग प्रतिनिधिसभाका सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउनका लागि त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले नुवाकोट सुन्दर र राजधानी नजिक भइकन पनि सुविधा नपाएर पिछडिएको जनाउँदै नुवाकोट र रसुवाका गोसाइँकुण्डजस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रचारप्रसार गरी जिल्लालाई भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले वैभवशाली, आकर्षक एवं सद्भावपूर्ण बनाउन जिल्लाका पत्रकारलाई आग्रह गर्नुभयो ।
सो अवसरमा सांसद अर्जुननरसिंह केसीले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक द्वन्द्व हुन नदिन र मुलुकका सबै पर्व नेपालीको पर्व हो भन्ने भावना बढाएर राष्ट्रिय एकता मजबुत पार्नका लागि योगदान दिन पत्रकारलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री केसीले नुवाकोटबाट राजधानी आई पत्रकारिता गर्ने पत्रकारहरूको संस्था समाजले स्थापना गर्ने अक्षय कोषका लागि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।
कार्यक्रममा पूर्वसङ्घीय सांसद जगदीश्वरनरसिंह केसी, बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा प्रद्युम्न महत, राष्ट्रिय परीक्षा बोर्डका सहसचिव जङ्गबहादुर अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी महासङ्घका अध्यक्ष सीताराम न्यौपाने, राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु तारुके, आयोजक पत्रकार समाजका संयोजक रमेश जम्कटेल, सहसंयोजक नवराज घिमिरे, सदस्य प्रकाश पुडासैनी र पूर्वअध्यक्ष दिनेश आचार्यले मुलुकका सबै क्षेत्र सङ्कटमा परेकाले पत्रकारले सही सूचना दिएर राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नुवाकोट जिल्लाबाट राजधानीमा बसोबास गर्ने राजनीति, पत्रकारिता, साहित्य, संस्कृति, निजामती सेवा, उद्योग–व्यवसाय, रैथाने कृषि आदि सबै क्षेत्रका महानुभावको उपस्थिति थियो ।






