ड्रोन आक्रमणपछि माण्डले विमानस्थल बन्द

  २ घण्टा अगाडि

याङ्गुन, २६ भदौ : म्यान्माको दोस्रो व्यस्त माण्डले विमानस्थलमा ड्रोन आक्रमण भएपछि विमानस्थल दुई दिनका लागि बन्द गरिएको सुरक्षा स्रोतले बताएका छन् । सेना समर्थित सरकारले बिहीबार भएको आक्रमणमा प्रजातन्त्र समर्थक विद्रोहीको संलग्नता रहेको आरोप लगाएको छ ।

सरकारका अनुसार विमानस्थलमा छ वटा ‘आत्मघाती ड्रोन’ आक्रमण गरिए पनि मानवीय क्षति भएको छैन । आक्रमणबाट उडान तालिका प्रभावित भएको छ । सुरक्षा स्रोतका अनुसार आक्रमण विमानस्थलको भवनभन्दा केही टाढा भएको थियो । सुरक्षाका कारण शुक्रबार र शनिबार विमानस्थल बन्द गरिएको तथा मर्मतका लागि आइतबारसम्म बन्द रहने बताइएको छ ।

मध्य म्यान्माको प्रमुख हवाई केन्द्र माण्डले विमानस्थलबाट अन्तर्राष्ट्रिय तथा घरेलु उडान सञ्चालन हुँदै आएको छ । नागरिक हवाई निगरानी समूहले भने यसलाई सैन्य जेट उडानका लागि समेत प्रयोग हुने स्थानका रूपमा पहिचान गरेका छन् । एएफपीका पत्रकारले यसअघि विमानस्थलबाट सैन्य विमान उडेको देखेका थिए ।

सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि म्यान्मामा गृहयुद्ध जारी छ । सेनाले प्रजातन्त्र समर्थक तथा जातीय सशस्त्र समूहसँग लडिरहेको छ । सरकारले बिहीबारको आक्रमणको दोष पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) सहितका विद्रोही समूहलाई दिएको छ ।

द्वन्द्वमा सेना र विद्रोही दुवै पक्षले ड्रोन प्रयोग गर्दै आएका छन् । एक लाखभन्दा बढी मानिस मारिएको केही पर्यवेक्षकको अनुमान छ । चिनियाँ र रुसी निर्मित लडाकू विमानसहित सेनाको हवाई शक्ति विद्रोहीविरुद्ध महत्वपूर्ण मानिन्छ । सेनामाथि विद्यालय, मठ तथा सार्वजनिक समारोहमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण गरेको आरोप लाग्दै आएको छ । यसलाई मानव अधिकार समूहले सम्भावित युद्ध अपराधका रूपमा औँल्याएका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया