देउडा सुदूरपश्चिमको पहिचान हो : प्रदेश प्रमुख जोशी

  भदौ २३, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), २३ भदौ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।

शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उहाँले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताउनुभयो ।

“सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा उपयोगी माध्यम बनेको छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो, “समाजको विकासका लागि संस्कृतिको ठूलो भूमिका हुन्छ ।” उहाँले पछिल्लो समय विभिन्न सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेकाले पछिल्लो पुस्ताले समेत संस्कृतिको बारेमा जान्ने अवसर पाएको बताउनुभयो ।

“अहिले देउडा सुदूरपश्चिममा मात्रै नभई काठमाडौँमा समेत भव्यरुपमा हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसले सुदूर र कर्णालीको संस्कृति देशभरिका नागरिकले देख्न पाएका छन् ।”

सो अवसरमा सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री लालबहादुर खड्काले देउडा मनोरञ्जनका लागि मात्रै नभई देउडामा यहाँको संस्कृति र सभ्यता भएकाले यसको जर्गेना गनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख जोशीसँगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र लालबहादुर खड्का भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहरालगायतले मन्तव्य राख्नुभएको थियो । सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्यलगायतका व्यक्तिले देउडा खेल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया