दमौली, १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको आज अनुगमन गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन जिल्ला आउनुभएका मुख्यमन्त्री पाण्डेले अस्पतालको अनुगमन गर्दै सेवाप्रवाहका बारेमा जानकारी लिनुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले बिरामी कक्ष, ओपिडी कक्ष लगायतको स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणपश्चात् आयोजित छलफल क्रममा मुख्यमन्त्री पाण्डेले अस्पतालको स्तरोन्नतिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
विभिन्न चरणमा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बारेमा आफू जानकार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले यस विषयमा आफू गम्भीर रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अस्पतालको स्तरोन्नति अति आवश्यक भइसकेकाले यसमा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो ।
सो क्रममा अस्पतालका प्रमुख डा परिवर्तन बरालले अस्पतालको वर्तमान अवस्था र सेवाप्रवाहका बारेमा जानकारी गराउनुभयो । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पताल स्तरोन्नतिको आवश्यकता खड्किएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालको विस्तार गर्नुपर्ने अति आवश्यक भइसकेको छ, बिरामीको चाप बढ्दो छ, अहिल्यैकै अवस्थामा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।”
अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय गरिसकेको छ । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवाविज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको छ । तर त्यसका लागि सम्झौता गर्न बाँकी छ ।
विसं २०३४ मा स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहोर पानीको व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।






