लहान (सिरहा), २८ साउन : सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको रिचार्ज गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज सिरहाको लहानस्थित एक कार्यक्रममा उहाँले चुरे विनाशसँगै पानीको मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने बताउनुभएको हो ।
“हामीले चुरेको रिचार्ज नगर्ने हो भने एकाध वर्षमा तराई क्षेत्र मरुभूमि बन्नसक्ने खतरा छ । तर कसरी चुरेको रिचार्ज गर्ने ? कसरी चुरेको संरक्षण गर्ने ?”, मन्त्री भुसालले भन्नुभयो, “त्यसका लागि एउटा उपाय छ । त्यो भनेको चुरेको फेदीबाट पूर्वपश्चिम नहर बनाउनुपर्ने आवश्यकता छ । यसो गरियो भने चुरेको रिचार्ज हुन्छ, खानेपानीको अभाव हुन्न, सिँचाइको अभाव हुन्न । अन्नको भण्डार मानिने तराईमा बाह्रैमास सिँचाइ गर्न सकिन्छ ।”
पानी नदीबाट बगेर जाने तर खडेरी परेर यहाँका किसान रुनुपर्ने अवस्थालाई अन्त्य गर्दै उक्त बगेर जाने पानीलाई व्यवस्थापन गरी नदीले कटान गरेका लाखौँ हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्न सकिने राय मन्त्री भुसालको थियो । साथै चुरेको फेदीका ठाउँठाउँमा जलाशययुक्त पोखरी, तालतलैया निर्माण गरी पर्यटन केन्द्र, माछापालन, हाँसपालनजस्ता योजनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
फरक प्रसङ्गमा मन्त्री भुसालले अहिले देशमा रासायनिक मलको अभाव नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँका अनुसार स्थानीय तहले आफ्नो क्षेत्रमा कृषि क्षेत्रको वर्गीकरण तथ्याङ्कका आधारमा मलखाद वितरण गरेको जानकारी दिनुभयो ।






