काठमाडौँ, ११ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले विपद्मा परी ज्यान गुमाउनेहरु सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले विपद्मा परी घाइते हुनुभएका पाँच नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले उल्लेख गर्नुभयो । यही असोज ८ गतेदेखि केहीबेर अघिसम्मको विवरणअनुसार चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा गरी २१ नागरिकले ज्यान गुमाउनुभएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा उच्च सतर्कता अपनाउन अनुरोध पनि गर्नुभएको छ । साथै अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला र कुनै पनि सङ्कट पर्दा शुल्क नलाग्ने नम्बर १२३४ मा फोन गर्न पनि उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहले यस्तो विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको उल्लेख गर्नुभएको छ । साथै पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनुहुँदैन, सङ्कटका बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य रहेको उहाँको भनाइ छ ।
“केही दिनअघि असोज ९ गतेदेखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरी आउनसक्ने पूर्वानुमान नेपाल मौसम विज्ञान विभागलगायत निकायलेले गरेबमोजिम हामीले सबै नागरिकमा पूर्वसावधानी अपनाउन सार्वजनिक अपिल गरेका थियौँ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “सरकार पनि तत्कालै गम्भीरताका साथ सम्भावित विपद् व्यवस्थापनको तयारीमा सक्रिय बनेको थियो, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कमान्ड पोष्टको बैठकबाट निरन्तर सूचना सम्प्रेषण, रात्रिकालीन यातायात र स्कुल बन्द गराउनेलगायत सावधानीका निर्णय गराइएको थियो । ७७ वटा जिल्ला कमान्ड पोष्टलाई सक्रिय बनाइएको थियोे ।”
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका घटना भइरहेका छन्, जसबाट प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको क्षतिबाट नागरिकलाई माथि उठाउन हामी निरन्तर क्रियाशील छौँ । तर, यही बीचमा हामीले पुनःअर्को विपद्को सामना गर्नुपरेको छ ।
यस विषम परिस्थितिमा हालसम्म पाँच जना नागरिक बेपत्ता हुनुभएको विवरण प्राप्त भएको छ । मनाङको हिमपहिरोमा परेर मानिस बेपत्ता हुनुभएको सूचना प्राप्त भएको छ । यसबारे विवरण सङ्कलन गर्ने काम जारी छ । बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनका घटना भएका छन् । गाउँ मात्र नभई सहरसमेत डुबानमा परेका छन् । दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायत पूर्वाधारमा क्षति पुगेको छ ।
यस्तो सङ्कटको घडीमा प्रत्येक नागरिकको जीवनरक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो । त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मी अहोरात्र खटिरहनुभएको छ ।
बाढीपहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । नागरिकको जीउधन बचाउन विभिन्न माध्यमबाट सूचना तथा सन्देश सम्प्रेषण गर्नुका साथै सुरक्षाकर्मीले स्थलगत रूपमा माइकिङ गरिरहनुभएको छ । सरकारको पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रु सुरक्षित फर्कनुभएको छ भने हाम्रा विद्यार्थी जोगिनुभएको छ । कुनै पनि नागरिक सङ्कटमा पर्नेबित्तिकै उद्धारका लागि हाम्रा सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा छन् ।
“बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगाएर पुलमा अड्किएका कारण सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।
साथै सडकमा पहिरो जाने र भासिने समस्या देखिएको छ । अहोरात्र खटिएर मर्मत गरिएका भोटेकोशी, त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनःक्षति पुगेको छ भने कालीगण्डकीको पक्की पुलसमेत बगेको छ । यद्यपि, क्षतिग्रस्त सडक द्रुत गतिमा मर्मत गरी यातायात पुनःसञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध भएर लागि परेको उहाँले उल्लेख गर्नुभएको छ ।
बाढीका कारण कालीगण्डकी करिडोर, मस्र्याङ्दी र सेती–मादी करिडोरलगायत गरी राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएका छन् । त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनको टावर ढलेका कारण पूर्ण रूपमा ठप्प भएका छन् ।
यसैगरी, बाढीपहिरो तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ । विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको छ ।
देशका ठूला नदीमा पानीको बहाव उच्च भएपछि केही स्थानमा आवागमन रोकिएको छ । महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी भएर हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ । नागरिकको सुरक्षालाई ध्यानमा राखी समन्वय गरेर पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह बढेकाले विशेष सजगता अपनाइएको छ भने कुलेखानी क्षेत्रमा यातायात रोकिएको छ । यसका साथै, हुरीसहितको वर्षाले किसानको धानबाली तथा तरकारीलगायत अन्य बालीमा ठूलो क्षति पु-याएको प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै राससले जनाएको छ ।






